२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनपिएलको आयव्यय पारित

Nada
२०८३ वैशाख २७ गते १९:५१
Shares
एनपिएलको आयव्यय पारित

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गर्दै देशभरका ४५ जिल्ला क्रिकेट संघलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

ncell

आइतबार विराटनगरमा सम्पन्न साधारणसभाले सिद्धार्थ बैंक एनपिएलबाट प्राप्त आम्दानीमध्ये प्रत्येक जिल्ला क्रिकेट संघलाई २ लाख रुपैयाँका दरले वितरण गर्ने निर्णय गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ । साथै, आगामी अवधिमा एसीसी वा आइसिसीबाट थप प्रतियोगिता तथा कार्यक्रम प्राप्त भएमा आवश्यकतानुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने गतिविधि र कार्यक्रमको मूल्यांकनका आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णय पनि साधारणसभाले गरेको छ । क्यानले यसलाई जिल्ला स्तरमा क्रिकेट गतिविधि प्रभावकारी बनाउने योजनाको हिस्सा बताएको छ ।

यसैबीच, क्यानले हरेक वर्ष डिसेम्बरमा ‘क्यान एनुअल अवाड्र्स’ आयोजना गर्ने घोषणा पनि गरेको छ । अवार्डअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष/महिला), लाइफटाइम अचिभमेन्ट अवार्ड तथा ‘मोमेन्ट अफ द इयर’ सम्मान प्रदान गरिने जनाइएको छ ।

साधारणसभाबाट पारित निर्णयलाई नेपाली क्रिकेटको संस्थागत विकास, जिल्ला संरचनाको सुदृढीकरण तथा घरेलु प्रतियोगितालाई थप व्यवस्थित बनाउने कदमका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर