
दोहा, कतार : कतारको सबैभन्दा ठुलो फुटबल उत्सव 'अमिर कप २०२६' को उपाधि अल घाराफाले उचालेको छ । खलिफा इन्टरनेसनल स्टेडियममा भएको रोमाञ्चक फाइनल भिडन्तमा अल घाराफाले कीर्तिमानी विजेता अल सादलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक र ट्रफीमा कब्जा जमाएको हो । योसँगै अल घराफाले नवौं पटक अमिर कपको उपाधि जितेको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले विजेता टोली अल घाराफाका कप्तान र खेलाडीहरूलाई अमिर कपको सुनौलो ट्रफी र स्वर्ण पदक हस्तान्तरण गरेका थिए । आजको खेलको प्रमुख आकर्षण अल घाराफाका स्टार खेलाडी यासिन ब्राहिमी रहे । उनले सानदार ह्याट्रिक गर्दै टोलीको जितमा मुख्य भूमिका खेले । घाराफाका फर्जानी साशीले २१औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । यासिन ब्राहिमीले त्यसपछि लगातार तीन गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
अल सादका तर्फबाट जाभाइरो डिलरोसुनले एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन । ३७ हजार ८ सय २३ दर्शकले खचाखच भरिएको स्टेडियम आतिशबाजी र खुसीयालीले गुञ्जायमान भएको थियो । उपाधिसँगै अल घाराफाले २० मिलियन कतारी रियाल नगद पुरस्कार र आगामी 'एएफसी च्याम्पियनसिप लिग'मा सिधै प्रवेश पाउने सुनिश्चित गरेको छ । खलिफा स्टेडियमको ५०औं वर्षगाँठको अवसरमा भएको यो जित अल घाराफाका लागि इतिहासकै सबैभन्दा स्मरणीय क्षण बनेको छ ।
