२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सर्लाहीमा निर्वाचनको मौन अवधिमा रकम बाँड्दै गरेको व्यक्ति नगदसहित प्रहरी नियन्त्रणमा

Nada
२०८२ फागुन २० गते ०९:२३
Shares
सर्लाहीमा निर्वाचनको मौन अवधिमा रकम बाँड्दै गरेको व्यक्ति नगदसहित प्रहरी नियन्त्रणमा

सर्लाही : जिल्लाको हरिपुर्वा नगरपालिका-२ स्थित हरिपुर्वा गाउँमा मंगलबार राति करिब ११ बजे प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत खटिएको सशस्त्र प्रहरी टोलीले निर्वाचनको मौन अवधिमा रकम बाँड्दै गरेको अवस्थामा एक जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।

ncell

नियन्त्रणमा लिइएका व्यक्ति सोही ठाउँका अन्दाजी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनको साथबाट नगद २५ हजार रुपैयाँ तथा स्थानीय अन्य व्यक्तिहरूको नामावलीसहितको सूची बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भिडियो रेकर्डअनुसार, पक्राउ परेका यादव पैसा गन्दै गरेको देखिन्छ । भिडियो संवादमा उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल का केन्द्रीय अध्यक्ष एवं सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार राजेन्द्र महतोको कार्यकर्ता भएको बुझिन्छ ।

उक्त नगदको स्रोत नखुलेको तथा निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको देखिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका यादवलाई थप अनुसन्धानका लागि हरिपुर्वा नगरपालिकामा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षक विकास कुमार धामीको टोलीलाई राति ११ः२० बजे बुझाइएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निर्वाचनको मौन अवधि र आचारसंहिताको उल्लङ्घन भएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सर्लाही प्रहरीले जानकारी गराएका छन् ।

उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । निर्वाचनको निष्पक्षता र आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिमाथि कडा कदम चालिने सर्लाही प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर