२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

आज फागुपूर्णिमा पर्व मनाइँदै

Nada
२०८२ फागुन १८ गते ०८:१४
Shares
आज फागुपूर्णिमा पर्व मनाइँदै

काठमाडौं : फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

विशेषगरी युवतीहरुलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँड्डुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आएकी रमा केसीले बताइन् ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

laxmi recruitement

सम्बन्धित खबर