२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फागु पूर्णिमा पर्वलाई अनुशासित, सुरक्षित र कानुनी सीमाभित्र रही मनाउन अनुरोध

Nada
२०८२ फागुन १७ गते १४:०९
Shares
फागु पूर्णिमा पर्वलाई अनुशासित, सुरक्षित र कानुनी सीमाभित्र रही मनाउन अनुरोध

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय, उदयपुरले फागु पूर्णिमा पर्वलाई अनुशासित, सुरक्षित र कानुनी सीमाभित्र रही मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

ncell

यस वर्ष रंगोत्सव संघीय प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२को मौन अवधिसँगै परेको सन्दर्भमा प्रशासनले सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न विशेष ध्यानाकर्षण गराएको हो । केही दिनअघि जारी औपचारिक सूचनामार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक सबैलाई संयमित व्यवहार अपनाउन भनिएको छ ।

प्रशासनले मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, नारा, संकेतचिह्न प्रदर्शन वा आचारसंहिता विपरीत गतिविधि नगर्न सचेत गराएको छ । फागुन १८ र १९ गते मनाइने पर्वका अवसरमा जिल्लाभर सुरक्षा प्रबन्ध कडाइ गरिने, भिडभाड हुने स्थानमा निगरानी वृद्धि गरिने तथा उल्लंघन देखिए तत्काल कारबाही अघि बढाइने जनाइएको छ ।

सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमका लागि पूर्वअनुमति अनिवार्य रहेको स्मरण गराउँदै कसैको इच्छा विपरीत रङ प्रयोग गर्ने, अवाञ्छित व्यवहार गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगर्न आग्रह गरिएको छ ।

मादक पदार्थ सेवनपछि सवारी चलाउने, बाटो अवरुद्ध गर्ने, होहल्ला गर्ने वा सुरक्षाकर्मी तथा सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने कार्यलाई कानुन विपरीत ठहर गरिने स्पष्ट पारिएको छ । यस्ता गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा संयन्त्र परिचालन गरिने तथा ट्राफिक अनुगमनलाई प्रभावकारी बनाइने तयारी रहेको प्रशासनले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनका घटना देखिए नजिकको प्रहरी निकायमा तत्काल सूचना दिन आह्वान गर्दै प्रशासनले सामाजिक सञ्जालमार्फत भ्रामक वा उत्तेजक सामग्री नफैलाउन पनि सचेत गराएको छ ।

होलीलाई आपसी सद्भाव र एकताको प्रतीक पर्वका रूपमा सभ्य ढंगले मनाउन आग्रह गर्दै प्रशासनले कानुन विपरीत गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर