२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ओली भन्छन्- 'अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन'

Nada
२०८२ फागुन १५ गते १३:१८
Shares
ओली भन्छन्- 'अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन'

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । उनले चुनावलाई स्वच्छ र विश्वसनीय बनाउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

ncell

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै ओलीले मुलुकको सार्वभौम संसद विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको दाबी गरे । उनले उक्त संकटबाट देशलाई मुक्त गर्न आफ्नो पार्टी चुनावमा होमिएको बताए ।

ओलीले कुनै पनि प्रकारको चुनावी धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे । “एमाले चुनावबाट भाग्दैन, देशैभरि चुनावमा केन्द्रित छ,” उनले भने, “आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बनेर देशका विद्यमान समस्याहरूको समाधान निकाल्नेछ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न युवाहरूलाई आग्रह गरे । उनले यस्ता भ्रम चिर्न र पार्टीका सिद्धान्त तथा कार्यक्रम जनतासम्म पुर्‍याउन विद्यार्थीहरू सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै ओलीले कुनै पनि राजनीतिक दलको भूमिका उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने उल्लेख गरे । उनले एमालेका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा लैजान सुझाव पनि दिए ।

सम्बन्धित खबर