२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता

Nada
२०८२ फागुन १३ गते १८:३४
Shares
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ । 

ncell

निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तीब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडकअवरुद्ध गर्नसक्ने आकलन गरिएको बताए । 

उनले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिए । यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताए  ।

उनकाअनुसार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने उनको भनाइ छ । 

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको उनले जानकारी दिए । रणनीतिक स्थानहरूमा औषधि, लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यक परे आपत्कालीन मेडिकल टिम तथा र्‍यापिड रेस्पोन्स टिम पनि परिचालन गरिने उनले बताए । मन्त्रालयकाअनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछ । 
 

सम्बन्धित खबर