२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वर्षमान पुनद्वारा रोल्पामा भएका विकासको विवरण सार्वजनिक, आगामी योजनासमेत हेरेर मत दिन आग्रह

Nada
२०८२ फागुन १३ गते १५:००
Shares
वर्षमान पुनद्वारा रोल्पामा भएका विकासको विवरण सार्वजनिक, आगामी योजनासमेत हेरेर मत दिन आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो कार्यकालमा रोल्पा जिल्लामा सम्पन्न भएका विकास गतिविधि र आगामी प्राथमिकताबारे जानकारी दिएका छन् ।

ncell

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले विगतमा जनप्रतिनिधिको रूपमा निर्वाह गरेको भूमिकाले जिल्लाको प्रतिष्ठा बढाएको उल्लेख गर्दै भविष्यमा पनि जनविश्वास कायम रहने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले जिल्लाका सबै ७२ वडामा सडक पहुँच विस्तार भएको, मदन भण्डारी लोकमार्ग तथा शहीद मार्ग निर्माण तथा स्तरोन्नतिमा आफ्नो पहल रहेको दाबी गरे । शिक्षा क्षेत्रमा नमुना विद्यालय भवन निर्माण तथा गुणस्तर सुधार भएको, संघीय र स्थानीय तहको सहकार्यमा १० वटै स्थानीय तहका प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको पनि उनले उल्लेख गरे ।

स्वास्थ्य सेवातर्फ प्रत्येक पालिकामा १० देखि १५ शैयासम्मका अस्पताल स्थापना भएको तथा केही स्थानमा निर्माण प्रक्रिया जारी रहेको जानकारी दिँदै उनले खानेपानी, सिँचाइ र विद्युतीकरण क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको बताएका छन् । २०६२/०६३ सालको राजनीतिक परिवर्तनताका करिब १२ प्रतिशत मात्र विद्युतीकरण भएको जिल्लामा हाल ९० प्रतिशतभन्दा बढी पहुँच पुगेको उनको भनाइ थियो ।

कृषि उत्पादनतर्फ समेत प्रगति भएको उल्लेख गर्दै उनले अहिले जिल्लामा व्यावसायिक सुन्तला खेतीबाट एक किसानले करोडौँ रुपैयाँसम्म आम्दानी गर्ने अवस्था सिर्जना भएको दाबी गरे ।

जनआन्दोलन र द्वन्द्वकालीन योगदान स्मरण गर्दै उनले आगामी दिनमा पनि जिल्लाको सम्मान बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । साथै, मतदातालाई सिद्धान्त, विचार र ऐतिहासिक पृष्ठभूमि भएका राजनीतिक शक्तिलाई समर्थन गर्न आग्रह गरेका छन् ।
 

सम्बन्धित खबर