२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवलपरासीमा ३७ नेता–कार्यकर्ताले गरे कांग्रेस परित्याग

Nada
विनोद निगम
२०८२ फागुन ११ गते २१:२८
Shares
नवलपरासीमा ३७ नेता–कार्यकर्ताले गरे कांग्रेस परित्याग

नवलपरासी : पश्चिम नवलपरासीमा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसभित्रको असन्तुष्टि बढेको छ । सुस्ता गाउँपालिका–५, पकलिहवास्थित वडा कार्यसमितिका ३३ जना तथा बर्दघाटका ४ जना गरी ३७ जना नेता–कार्यकर्ताले एकैसाथ पार्टी सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । 

ncell

राजीनामा दिनेहरूका अनुसार उनीहरूले विगत केही वर्षदेखि विभिन्न पदमा रही सक्रिय योगदान पुर्‍याए पनि हालको नेतृत्वले कार्यकर्ताको मनोभाव नबुझेको, अनावश्यक दोषारोपण गरेको तथा केही व्यक्तिमा हैकमवादी प्रवृत्ति देखिएको आरोप लगाएका छन् । निर्वाचन क्षेत्र नं. १ का संघीय सभापति मुकुल कुमार आचार्यमाथि प्रलोभनमा पारी जानकारीबिनै कारबाही गरेको गम्भीर आरोपसमेत उनीहरूले लगाएका छन् । 

संयुक्त हस्ताक्षरित पत्रमार्फत उनीहरूले पार्टी परित्यागको निर्णय सार्वजनिक गर्दै अब कांग्रेसको साधारण सदस्यसमेत नरहने स्पष्ट पारेका छन् । आगामी राजनीतिक सक्रियता जनअपेक्षा, पारदर्शिता र जवाफदेहितामा केन्द्रित हुने उनीहरूको भनाइ छ ।

बर्दघाटबाट राजीनामा दिनेमा सन्तोष गुरुङ, चित्रबहादुर वर्मा, सुशिल तिमिल्सिना र निरज आचार्य रहेका छन् । तीमध्ये चार जनाले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने इच्छा व्यक्त गरेका छन् । 

राजीनामा समूहले पार्टीभित्रको व्यवस्थापन र निर्णय प्रक्रियाले कार्यकर्ताको मनोबल कमजोर बनाएको अनुभव साझा गर्दै साथ–सहयोग गर्ने सबै नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । शनिबार र आइतबार मात्रै ४० भन्दा बढीले कांग्रेस परित्याग गरेको दाबीसमेत गरिएको छ ।

यस घटनाले क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार बिनोद चौधरीमाथि प्रत्यक्ष राजनीतिक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । चुनाव नजिकिँदै गर्दा आएको सामूहिक राजीनामाले जिल्लाको राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको देखिएको छ ।

सम्बन्धित खबर