२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

Nada
२०८२ फागुन २ गते १७:०७
Shares
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडाैँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गरेका छन् । विभागले शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गरे।

ncell

उनकाअनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ । यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उनको भनाई छ । उनले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे ।

लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश तथा दक्षिण एशियाका केही राष्ट्रहरूमा देखिएको उल्लेख गर्दै उनले नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए ।

एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ । स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको उद्देश्य रहेको उनले बताए।

एमालेले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका अवसर, सुरक्षित आवास तथा सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

तीब्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता तथा राष्ट्रिय स्वाभिमान सुदृढीकरणमार्फत दीर्घकालीन समृद्धि हासिल गर्न आफ्नो नेतृत्व सक्षम रहेको दाबी पनि एमालेको छ । 

ताजा खबर

सम्बन्धित खबर