२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ओखलढुंगामा गाउँ केन्द्रित प्रचारमा जुट्यो कांग्रेस

Nada
२०८२ माघ २९ गते १७:०१
Shares
ओखलढुंगामा गाउँ केन्द्रित प्रचारमा जुट्यो कांग्रेस

ओखलढुंगा : नेपाली कांग्रेस ओखलढुंगाका सबै तहका नेताहरू पार्टीका उम्मेदवार कुमार लुईंटेललाई जिताउने साझा लक्ष्यसहित एकताबद्ध भएर गाउँ–गाउँमा पुगेका छन् । विशेष महाधिवेशनका क्रममा देखिएका असन्तुष्टि मिलाउँदै कांग्रेस नेताहरूले पार्टीको जितका लागि संयुक्त अभियान थालेका हुन् ।

ncell

उम्मेदवार लुईंटेलको नेतृत्वमा रहेको टोली यतिबेला गाउँ केन्द्रित प्रचारमा जुटेको छ । जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले वडा, गाउँ र नगरस्तरीय समितिलाई सक्रिय बनाउँदै कांग्रेसको पक्षमा माहोल तयार गरिरहेको जनाएको छ ।

एउटामात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा कांग्रेसको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग छ । तर पछिल्लो समय जिल्ला अध्यक्षसहित ३० जना पदाधिकारी तथा नेताहरू नेकपामा प्रवेश गरेपछि उक्त पार्टीको संगठन कमजोर बनेको स्थानीयको भनाइ छ । एमालेको संगठनमा आएको क्षयका कारण कांग्रेसको जित सहज देखिएको उनीहरूको आकलन छ ।

कांग्रेस उम्मेदवार लुईंटेललाई इमानदार, लोकप्रिय र युवापुस्ताको प्रतिनिधि नेताका रूपमा चिनिने गरिएको छ । चिशंखुगढी गाउँपालिका कांग्रेस सभापति गोपालमान थापाका अनुसार लुइटेलको उम्मेदवारीले जिल्लाभर नयाँ ऊर्जा थपेको छ । ८ स्थानीय तह र ७५ वडामा मतदाताको मन जित्ने लक्ष्यसहित कांग्रेस नेताहरू घरदैलो अभियानमा सक्रिय छन् ।

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा कांग्रेसलाई जिताउने अभियानमा आफू पूर्ण रूपमा लागेको बताए ।

उनले भने, “मेरो राजनीतिक जीवनमा ओखलढुंगाका मतदाता सबैभन्दा ठुला हुन् । कांग्रेस देशका अन्य जिल्लामा हार्दा पनि ओखलढुंगामा जित्छ भन्ने पुरानो सन्देशलाई पुनः स्थापित गर्न सबै नागरिकलाई रूख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।”

पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका भौतिक पूर्वमन्त्री प्रदीपकुमार सुनुवारले ओखलढुंगाले चिनेको युवा नेता कुमार लुइटेलको जित नै जिल्लावासीको जित हुने बताए । सुशासन र समृद्धिका लागि कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।

उम्मेदवार लुईंटेलले पालिकास्तरीय घरदैलो तथा भेटघाट कार्यक्रम सकेर अहिले वडास्तरीय भेटघाटलाई तीव्रता दिएका छन् । लुईंटेलले टिकट पाएसँगै गाउँतहका मतदातामा नयाँ उत्साह देखिएको स्थानीय ढुंडिराज पहाडीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर