
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।
मुख्यमन्त्री यादवले विकास निर्माणको काममा अख्यिारमा उजुरीहरू पर्ने र त्यो आयोजनाको काम नै अघि नबढने अवस्था आउने भएकाले मुलुकमा ५० प्रतिशत पनि पुँजीगत खर्च हुन नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसमा सहज वातावरण बनाउने काममा लाग्नुपर्ने बताए ।
उनले अख्तियारमा उजुरी परेपछि कर्मचारीहरू निलम्बनमा पर्ने डरले कामै गर्न नसक्ने अवस्था आउँदा पनि विकास, निर्माणको कामले गति लिन नसकेको समेत स्पष्ट पारे ।
मुख्यमन्त्री यादवले ठेक्का लिने क्रममा पहुँच नपुग्नेहरूले पनि विकास निर्माणको काममा अवरोध पुर्याउने गरी अख्तियार उजुरी दिने गरेको र त्यसैलाई आधार बनाएर सो काम रोकिने अवस्था आउन नदिने कुरामा पनि उचित ध्यान दिन आवश्यक रहेको बताए ।