
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार दिनभर कोशी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त भए । प्रदेश राजधानी विराटनगरको सभामा सहभागी भए । सुनसरी, सप्तरीको हनुमाननगर, कंकालिनी÷कञ्चनपुर, रूपनी, कदमचोक सिराहाको लाहान, जिरो माइल, गोलबजार हुँदै महोत्तरीका विभिन्न स्थानमा नेता तथा कार्यकर्ताहरूसँग संवाद गरे । अर्थात्, गगन थापा मधेशको मत तान्ने रफ्तारमा मतदाता भेटिरहेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको यस्तै रफ्तार अन्यत्र पनि पुग्नेछ । बुधबार दाङ जिल्लास्तरीय बृहत् भेला, बिहीबार रुपन्देही जिल्लास्तरीय बृहत् भेला र शुक्रबार सबै उम्मेदवारसहितको पाल्पा जिल्लास्तरीय बृहत् भेला रहेको छ ।
गगन थापा जुन रफ्तारमा मधेश केन्द्रित भएर मतदाता भेटिरहेका छन् त्यस्तै रफ्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मधेशको दुई फन्को लगाइसके । यी दुवै संघीय राजधानी काठमाडौंबाट राजनीतिमा स्थापित भएका नेता हुन् ।
चारपटकसम्म काठमाडौंबाट संघीय सांसद भएर काम गरेका थापा पार्टी सभापति भएसँगै मधेशको मत तान्न तराई–मधेस झरेका छन् । २०७९ मा स्वतन्त्र उम्मेदवार भएर काठमाडौं महानगरको मेयर जितेसँगै राजनीतिमा उदाएका बालेन मधेशको मत तानेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । उसो त थापालाई पनि कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।
भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका थापा र बालेन मधेशको मत तानेर राजनीतिमा थप स्थापित हुने योजनामा देखिन्छन् । यसकारण दुवै मधेशकेन्द्रित भएर चुनावी गतिविधिमा रहेका हुन् ।
मधेश प्रदेशमा मात्रै ३२ वटा निर्वाचन क्षेत्र छ । यो प्रदेशमा मात्रै मतदाताको संख्या ३६ लाख ३६ हजार ४ सय १४ छ । निर्वाचन क्षेत्र र मतदाता दुवै धेरै भएकाले मधेश प्रदेश दलहरूको प्रमुख चासोका रूपमा रहँदै आएको छ ।
झापाबाट निस्किएनन् ओली
केपी शर्मा ओली ओली दिनभरजसो झापा ५ मै मतदाता भेट्न व्यस्त हुन्छन् । नयाँ पुस्तालाई आफूतर्फ आकर्षित गर्न प्राथमिकताका साथ युवालाई भेटिरहेका छन् । गौरादह, दमक, गौरीगन्ज र कमल गाउँपालिकाका गाउँवस्ती पुगेर स्थानीयका गुनासा सुनेका छन् ।
आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका अर्का पात्र हुन्– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उनी आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा छन् ।
यसपटक बालेन पनि ओलीसँगै प्रतिस्पर्धामा छन् । यसकारण झापा निर्वाचन क्षेत्र नम्बर ५ आमचासोको निर्वाचन क्षेत्र बन्न पुगेको छ । २०४८ यताका एउटाबाहेक सबै चुनाव जितेमा ओली यसपटक पनि उम्मेदवार भएका हुन् । युवा मतदता बालेनप्रति आर्कषित रहेको आशंकामा ओली निर्वाचन क्षेत्रमै रहेर युवा र बालबालिका केन्द्रित भेटघाटमा छन् ।
विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी र तथा युवाहरूलाई टेलिफोन गर्ने र सुझाव लिनेदेखि स्थानीयस्तरमा समेत युवा केन्द्रित भेटघाटमा रहेका ओली अन्यत्र चुनावी प्रचारमा निस्किएका छैनन् । तथापि वृद्धवुद्धालाई समेत भेटेर ओलीले संवाद गरिरहेको र जिज्ञासा सुनिरहेका विवरणसमेत सार्वजनिक भइराखेका छन् ।
एमालेका नेताहरूका अनुसार एमालेले वडा र गाउँस्तरका संरचनालाई परिचालन गरेको छ । देशभर स्थानीयस्तरको पार्टी कमिटी र भ्रातृ संरचनालाई सक्रिय बनाइएको छ । देशभर शीर्ष नेताहरू जाने कार्यक्रमको विषय औपचारिक रूपमा कुनै निर्णय भएको छैन ।
एकसरो मतदातासँगको भेटघाट सकाएपछि ओली काठमाडौं आएका थिए । फेरि उनी झापामै फर्किए । काठमाडौंमा रहँदा उनले अन्तरपार्टी संवादसमेत गरेका छन् । पार्टीका शीर्ष नेताहरूसँग पनि छलफल गरे । आफू घेराबन्दीमा रहेको उनको अनुभूति सुनेपछि एमालेका अन्य शीर्ष नेताहरूले पनि झापा केन्द्रित हुन सुझाव दिएका थिए । त्यसपछि ओली फेरि झापा नै फर्किएका हुन् ।
अघिल्ला चुनावहरूमा आफ्नो निर्वाचन क्षेत्रमा कमै देखिएर सजिलै जित्दै आएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली यसपटक भने झापा–५ मै केन्द्रित भएका हुन् । नेताहरूका अनुसार सम्भवतः उनी देश दौडाहामा निस्कने छैनन् ।
२३ भदौमा जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए । प्रहरी दमनमा एकै दिन १९ युवा मारिएपछि उनी आलोचनाको केन्द्रमा छन् । त्यसैले अघिल्ला चुनावमा जस्तो ओलीले भाषण गरेर जनमत बढ्नेमा एमाले उम्मेदवारहरू विश्वस्त छैनन् ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीले दबाबमा परेका ओली दिनभरजसो मतदाता भेट्न व्यस्त हुन्छन् । गौरादह, दमक, गौरीगन्ज र कमल गाउँपालिकाका गाउँबस्ती पुगेर उनले स्थानीयका गुनासा सुनेका छन् । भूमिहीन सुकुम्बासी, किसान र बेरोजगार युवाले ओलीलाई प्रश्न तेस्र्याएका छन् । नयाँ पुस्तालाई आफूतर्फ आकर्षित गर्न प्राथमिकताका साथ युवालाई भेटिरहेका छन् ।
ओली आफ्नै मतदाताका प्रश्नबाट घेरिएका छन् । पटकपटक प्रधानमन्त्री हुँदा पनि सुकुम्बासी समस्या किन समाधान गर्न नसकेको भन्दै भूमिहीनहरूले सोधेका छन् । ओलीले सरकार अस्थिर हुँदा समस्या समाधान गर्न नसकिएको प्रस्टीकरण दिएका छन् ।
‘आयोग बनायो, पुर्जा बाँड्ने बेला सरकार ढल्छ,’ उनले भने, ‘यसपटक पनि आयोग विघटन गरियो । अदालतबाट पुनस्र्थापित आयोगले काम गर्दै छ ।’ नेपाल–चीन मैत्री औद्योगिक पार्क क्षेत्रमा मुआब्जामा भेद्भाव भएकोमा पनि स्थानीयले गुनासो गरेका छन् ।
एमाले अध्यक्ष ओली २०४८ सालयता झापाबाट आठौंपटक चुनाव लड्दै छन् । २०६४ मा तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएबाहेक उनी सजिलै विजयी हुँदै आएका छन् । २०७४ र २०७९ का निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ओलीले एकअर्कालाई सघाएका थिए । यसपटक भने एमाले र राप्रपाबीच कुनै तालमेल छैन ।