२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘भयरहित निर्वाचनको वातावरण बनाउने दायित्वबाट सरकार चुक्नुहुँदैन’

Nada
सूर्यप्रसाद भुसाल
२०८२ माघ २६ गते २२:३०
Shares
‘भयरहित निर्वाचनको वातावरण बनाउने दायित्वबाट सरकार चुक्नुहुँदैन’

अर्घाखाँची :  नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउने मुख्य दायित्व सरकार र निर्वाचन आयोगको रहेको बताएकी छन् ।  नेपाली कांग्रेस सन्धिखर्क नगरकार्य समितिले सोमबार बिपी स्मृति भवन सन्धिखर्कमा आयोजना गरेको चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू निर्वाचनको मैदानमा गइसकेकाले अब आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी सरकार र निर्वाचन आयोगको भएको स्पष्ट पारिन् । 

ncell

उनले भनिन्, ‘सबै दलले उम्मेदवार तय गरिसकेका छन् र चुनावी तयारीमा जुटेका छन्। यस्तो अवस्थामा निर्वाचन स्वतन्त्र र भयरहित बनाउन आवश्यक संरचना तयार गर्ने काम सरकार र निर्वाचन आयोगले गर्नुपर्छ ।’

उपसभापति भुसालले संविधान संशोधनको आवश्यकता औँल्याउँदै सो कार्य नयाँ बन्ने संसद्ले गर्ने बताइन् । साथै, नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी अन्तिम चरणमा पु¥याएको जानकारी दिँदै पार्टीलाई नयाँ ऊर्जा, नयाँ भिजन र नयाँ दृष्टिकोणसहित अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । 

उपसभापतिमा निर्वाचित भएपछि गृह जिल्ला अर्घाखाँची आएकी भुसालले गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ स्वरूपका साथ जनतामाझ चुनावी एजेन्डा लिएर आएको बताइन् । विगतका कमजोरी आत्मसमीक्षा गर्दै सुधारसहित अघि बढ्ने र आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी पनि उनले गरिन् । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल प्रसाद भुसाल, प्रतिनिधि सभा उम्मेदवार विष्णु प्रसाद खनाल ‘मुस्कान’, जिल्ला सभापति केशव श्रेष्ठ, पूर्व सभापति पिताम्बर शर्मा, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, समानुपातिक उम्मेदवार ललिता सुनार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।  सन्धिखर्क नगरसभापति तुल्सीराम पौडेलको सभापतित्वमा तथा सचिव कृष्णबहादुर आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला, नगरपालिका र वडास्तरका पार्टी पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर