२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पूर्वसभासद सिंहद्वारा पार्टी परित्याग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ १७ गते २१:५३
Shares
एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पूर्वसभासद सिंहद्वारा पार्टी परित्याग

रौतहट : नेकपा एमालेका नेता तथा पूर्व संविधानसभा सदस्य बबन सिंहले पार्टीको शीर्ष नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् ।  

ncell

उनले नेतृत्वबाट अपमान, उपेक्षा र भेदभाव भोग्नुपरेको आरोप लगाउँदै एमालेसँगको सबै सम्बन्ध तोडेको बताएका हुन् । 

शनिबार आफ्नै गाउँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र इमानदार र सक्रिय कार्यकर्ताभन्दा चाकडी र अवसरवादलाई प्राथमिकता दिइएको उनको आरोप थियो । 

पत्रकार सम्मेलनमा भावुक देखिएका सिंहले आफूले संगठन निर्माणमा ठूलो योगदान दिएको दाबी गरे। ‘संगठन कमजोर अवस्थामा हुँदा हामीले रगत–पसिना बगाएर बलियो बनायौँ, तर नेतृत्वले न त विकासका काममा ध्यान दियो, न सुशासनमा चासो देखायो,’ उनले भने, ‘हामीलाई चुनावका बेला मात्र प्रयोग गरियो र पछि साधारण सदस्यजस्तै व्यवहार गरियो ।’

उनले विगतका निर्वाचनमा लामो समयसम्म खटिएर मत मागेको उल्लेख गर्दै यदि आफूहरू अयोग्य नै थिए भने नेतृत्वले किन आफ्नै नाममा जनतासँग मत माग्यो भन्ने प्रश्न उठाए । 

नेता सिंहले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै देशमा बढ्दो हिंसा, अव्यवस्था र भ्रष्टाचारको नैतिक जिम्मेवारी सरकार प्रमुखले लिनुपर्ने बताए ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाउँदै सिंहले फरक मत राख्ने कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको दाबी गरे । उनले आफ्नो विगतको राजनीतिक निर्णयलाई ठूलो गल्तीका रूपमा स्वीकार गर्दै आत्मालोचना पनि गरे । 

सिंहका अनुसार उनीसँगै करिब ७ सय जना स्थानीय नेता तथा कार्यकर्ताले पनि एमाले परित्याग गरी स्वतन्त्र रूपमा अघि बढ्ने घोषणा गरेका छन् । 

सम्बोधनको अन्त्यमा उनले विगतका राजनीतिक निर्णयका लागि आम नागरिकसँग माफी माग्दै आगामी दिनमा जनताको हितमा काम गर्ने र जनप्रिय नेताहरूलाई मात्र समर्थन गर्ने नीति लिने स्पष्ट पारे । 

पार्टी परित्यागको घोषणाले रौतहटमा एमालेको संगठनभित्र हलचल सिर्जना भएको छ भने यसले आगामी राजनीतिक गतिविधिमा असर पार्ने अनुमान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर