२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सल्यानमा आचारसंहिता पालना गर्न सबै पक्षबीच प्रतिबद्धता

Nada
प्रदीप मगर
२०८२ माघ १४ गते २१:१०
Shares
सल्यानमा आचारसंहिता पालना गर्न सबै पक्षबीच प्रतिबद्धता

सल्यान : सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबै पक्षले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता  जनाएका छन् ।

ncell

निर्वाचन कार्यालय सल्यान तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सहभागीहरूले समय र स्थान नजुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई पूर्वजानकारी गराउने तथा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सभा–सम्मेलन आयोजना गर्ने सहमति जनाएका छन् । 

आचारसंहिता कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा जिल्लास्थित सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । 

निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमनको जिम्मेवारी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई दिइएको जानकारी गराइएको छ ।

बैठकमा मुख्य निर्वाचन अधिकृत प्रल्हाद योगीले सबैको सम्मान हुने र मितव्ययी ढंगले निर्वाचन प्रचार–प्रसार गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । उनले निर्वाचन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत निगरानीमा रहेकाले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए । 

त्यसैगरी प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले निर्वाचन आचारसंहिता उम्मेदवारलाई मात्र नभइ सबै सरोकारवालालाई लागू हुने उल्लेख गर्दै आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरे । उनले सभ्य र स्वच्छ तरिकाले मत माग्दै स्वस्थ प्रतिस्पर्धाबाट निर्वाचनमा सहभागी हुन सुझाव दिए । 

ताजा खबर

सम्बन्धित खबर