२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अर्घाखाँचीमा नयाँ र पुराना नेताबीच कडा प्रतिस्पर्धा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ माघ ११ गते २१:३२
Shares
अर्घाखाँचीमा नयाँ र पुराना नेताबीच कडा प्रतिस्पर्धा

अर्घाखाँची : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढ्दै गएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । 

ncell

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा यसपटकको निर्वाचन विशेष चासोको विषय बनेको छ । एकमात्र निर्वाचन क्षेत्र भएको यस जिल्लामा पुराना दल र नयाँ राजनीतिक शक्तिहरूको प्रतिस्पर्धा थप रोचक र कडा हुने अनुमान गरिएको छ ।

यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवार गरी कुल १३ जना उम्मेदवार मैदानमा छन् ।

नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा पूर्व जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), नेकपा एमालेबाट जिल्ला अध्यक्ष पिताम्वर भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला अध्यक्ष हरि प्रसाद भुसाल, नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष झबिन्द्र फुल्लेल, नेकपा माओवादीबाट खेम घर्ती, राष्ट्रिय जनमोर्चा बाट पशुपति ढकाल र स्वतन्त्र उम्मेदवार रवि शाहा, हिमाल भुसाल र फम्फा श्रेष्ठले चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । 

पुराना दलका उम्मेदवारहरूले आफ्नो राजनीतिक विरासत जोगाउने चुनौती सामना गर्ने छन् भने नयाँ दल र उम्मेदवारहरूका लागि यो निर्वाचन अवसरको रूपमा देखिएको छ । 

अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन्, जसमा पुरुष ८७ हजार १ सय ५७ र महिला ८४ हजार ४ सय ९५ रहेका छन्। जिल्लामा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र सञ्चालनमा रहने निर्वाचन कार्यालयले जनाएको छ । अप्ठ्यारो भूगोल भएका स्थानहरूमा मतदान सहज बनाउन केही मतदान स्थल र केन्द्र थप गरिएको छ ।

विशेषज्ञहरूले यो निर्वाचन मुख्य ठूला चार दलबीच कडा प्रतिस्पर्धा हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद भुसालका लागि अवसर बन्न सक्ने अनुमान गरेका छन् । फागुन २१ को नतिजाले अर्घाखाँचीमा पुराना र नयाँ नेताबीचको प्रतिस्पर्धा कसको पक्षमा जाने स्पष्ट गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर