२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

काठमाडौं-६ बाट शिशिर खनालको उम्मेदवारी दर्ता

Nada
२०८२ माघ ६ गते १७:१८
Shares
काठमाडौं-६ बाट शिशिर खनालको उम्मेदवारी दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट निवर्तमान सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले औपचारिक रूपमा मनोनयन दर्ता गराउँदा युवापुस्ताको उल्लेख्य उपस्थिति देखिएको थियो ।

ncell

खनालको उम्मेदवारी प्रस्तावक असनकी युवा महिला उद्यमी शैलेजा कसाजु रहेकी छन् भने समर्थक तारकेश्वरका युवा अभिषेक थापा बनेका छन् । थापा गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका थिए । आन्दोलनका घाइते र सफल उद्यमीको सहभागितालाई खनालको टोलीले ‘सडकको संघर्ष र समृद्धिको सपना’ को प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले परिवर्तनको नेतृत्व युवाबाटै सुरु हुने दाबी गरे । “आज मेरा प्रस्तावक र समर्थक नै परिवर्तनका संवाहक हुनुहुन्छ,” उनले भने, “सडकमा बगाएको रगत र उद्यममार्फत देखाएको साहसलाई हामी व्यर्थ जान दिने छैनौं । राष्ट्रिय स्वतन्त्र पार्टी अब बालेन शाहको नेतृत्वमा देश हाँक्न तयार छ, काठमाडौँ–६ बाटै नयाँ अध्याय सुरु हुन्छ ।”

उनले अघिल्लो कार्यकालमा मतदाताले सुम्पेको जिम्मेवारी इमानदारीका साथ निर्वाह गरेको उल्लेख गर्दै अधुरा योजना पूरा गर्न पुनः जनसमर्थन मागे । “शिक्षा, सुशासन र क्षेत्रको समग्र विकासका लागि थालेका कामलाई टुंग्याउन र संसदमा अझ सशक्त आवाज उठाउन यो उम्मेदवारी हो,” खनालले भने ।

खनालले आगामी कार्यकालका लागि शिक्षा तथा सार्वजनिक सेवामा सुधार, काठमाडौं–६ भित्रका पूर्वाधार समस्याको दिगो समाधान र नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्राथमिकता अघि सारेका छन्। साथै, प्रविधिमैत्री शासन, स्टार्टअप प्रवर्द्धन र युवालाई देशमै अवसर सिर्जना गर्ने योजनालाई चुनावी एजेन्डाको मुख्य आधार बनाइएको छ ।

यसअघि पनि यही क्षेत्रबाट निर्वाचित खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा विभिन्न सुधार कार्यक्रम अघि बढाएका थिए । यसपटक उम्मेदवारी दर्ताका क्रममा युवाको बाक्लो उपस्थिति र उत्साहले काठमाडौँ–६ मा नयाँ राजनीतिक लहर सुरु भएको संकेत गरेको छ ।

रास्वपा र खनालले यो निर्वाचनलाई ‘काम गर्ने पुस्ता र कुरा गर्ने पुस्ता’ बीचको छनोटको रूपमा चित्रण गर्दै मतदातासँग परिवर्तनको पक्षमा उभिन आह्वान गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर