२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ओलीलाई योगेशको सन्देश- टिकट मिलाउनुस्

Nada
२०८२ माघ ५ गते १३:४६
Shares
ओलीलाई योगेशको सन्देश- टिकट मिलाउनुस्

काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । व्यक्तिगत स्वार्थका लागि नभई पार्टीको समग्र जितलाई केन्द्रमा राखेर यस्तो आग्रह गरिएको उनले बताएका छन् ।

ncell

सोमबार सार्वजनिक भिडियो सन्देशमार्फत भट्टराईले आफू अध्यक्षसँग व्यक्तिगत रूपमा केही नमाग्ने स्पष्ट पारेका छन् । महाधिवेशनका क्रममा कसले सहयोग गर्‍यो–गरेन भन्ने आधारमा निर्णय गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले यतिबेला पार्टी जित्छ कि जित्दैन भन्ने नै मुख्य मिसन भएको बताएका छन् ।

‘कमरेड अध्यक्ष, तपाईं यो पार्टीको नेता हो । हामी सबैको सम्मानित नेता हो । यतिबेला महाधिवेशनमा कसले मलाई सहयोग गर्‍यो भन्ने आधारमा निर्णय गर्नुहुन्न भन्ने विश्वास छ,’ भट्टराईले भनेका छन्, ‘देशभर सात, आठ, नौ वा १० वटा जति निर्वाचन क्षेत्रमा अझै पनि मिलाउन सकिन्छ भने उपयुक्त ढंगले उम्मेदवार प्रस्तुत गर्नुपर्छ ।’

उनले आफू ताप्लेजुङबाट उम्मेदवार बन्न इच्छुक रहेको भए पनि पार्टी अध्यक्षले सार्वजनिक रूपमा निर्णय गरिसकेकाले त्यसमा कुनै किचलो नगर्ने स्पष्ट पारे । अध्यक्षले जसलाई उम्मेदवार बनाएर पठाएका छन्, सूर्य चिह्नका ध्वजावाहकलाई जिताउनु नै आफ्नो कर्तव्य भएको उनले बताए ।

‘म ताप्लेजुङबाट उम्मेदवार हुन चाहन्थें । तर निर्णय भइसकेपछि अब कुनै विवाद गर्दिनँ,’ उनले भने, ‘पार्टीले पठाएको उम्मेदवारलाई जिताउन दृढताका साथ लाग्छु । अब मेरा लागि मैले केही पनि माग्दिनँ ।’

तर कतिपय निर्वाचन क्षेत्रमा पार्टीभित्र न्याय नपाएको गुनासो आएको र स्थानीय कार्यकर्ता तथा समर्थकको भावना पर्याप्त रूपमा सम्बोधन नभएको आशंका रहेको भट्टराईको भनाइ छ । सचिवालय बैठकपछि पनि दर्जनौं स्थानमा उम्मेदवार परिवर्तन भएको उल्लेख गर्दै उनले केही क्षेत्रमा पार्टी कमजोर हुन सक्ने जोखिम देखिएको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर