२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ललितपुरका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Nada
रामहरि कार्की
२०८२ माघ २ गते १६:०६
Shares
ललितपुरका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

ललितपुर : आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शुक्रबार ललितपुर जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै जिल्लामा औपचारिक रूपमा निर्वाचनसम्बन्धी गतिविधि सुरु भएका छन् भने चुनावी सरगर्मी पनि बढ्न थालेको छ ।

ncell

तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा निर्वाचन क्षेत्र नं. ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा सञ्चालनमा ल्याइएको छ । निर्वाचन क्षेत्र नं. २ का लागि सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा तथा निर्वाचन क्षेत्र नं. १ का लागि चापागाउँस्थित गोदावरी नगरपालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं. ३ को मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश पुनाराम खनालले सम्हालेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका उपरजिष्ट्रार सम्झना सिम्खडा पुडासैनी नियुक्त भएकी छन् भने निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतको जिम्मेवारी सर्वोच्च अदालतकै उपरजिष्ट्रार इशा सुवेदीले सम्हालेकी छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, स्वतन्त्र, सभ्य र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले निर्वाचन आयोग नेपालको मातहतमा स्थापना गरिएको यी कार्यालयहरूबाट निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि सञ्चालन गरिने बताए ।

कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी प्रारम्भिक कामकारबाही सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए । उनका अनुसार आगामी दिनहरूमा उम्मेदवार मनोनयन, नाम दर्ता, चुनावी प्रचार–प्रसारको व्यवस्थापन, आचारसंहिता कार्यान्वयन, उजुरी तथा गुनासोको सुनुवाइ र व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वयलगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यहरू यही कार्यालयमार्फत अघि बढाइनेछ ।

कार्यालय उद्घाटन तथा निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, ललितपुर प्रहरी प्रमुख होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख राजेश लामिछाने, जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा धमलालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै ललितपुर जिल्लामा निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ भने सरोकारवाला निकायबीच समन्वय र सहकार्यका आधारमा निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन पहल गरिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर