२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

Nada
२०८२ माघ २ गते १५:५५
Shares
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

चितवनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।

ncell

भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, ‘संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।’ 

राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।  

फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने, ‘ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।’

भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिइन् । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको १९ करोड ८९ लाख तथा महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।  

ताजा खबर

सम्बन्धित खबर