२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गरुडाको सुरक्षा व्यवस्था सुधार्न सक्रिय डिएसपी आचार्य

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २९ गते १५:३३
Shares
गरुडाको सुरक्षा व्यवस्था सुधार्न सक्रिय डिएसपी आचार्य

रौतहट : रौतहटको प्रमुख व्यापारिक केन्द्र गरुडा क्षेत्रमा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा सुधार भएको छ । इलाका प्रहरी कार्यालय गरुडाको नेतृत्व प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर प्रसाद आचार्यले सम्हालेपछि चोरी, डकैती, हुलहुज्जत र अन्य आपराधिक क्रियाकलापमा उल्लेखनीय कमी आएको स्थानीयहरूले बताएका छन् ।

ncell

डिएसपी आचार्यले पदभार सम्हालेसँगै 'शून्य सहनशीलता' नीति लागू गरेका छन् । उनी आपराधिक घटनामा संलग्न व्यक्तिहरूविरुद्ध आक्रामक रूपमा अघि बढेपछि क्षेत्रीय सुरक्षा वातावरण शान्त र नागरिकमैत्री बनेको स्थानीयहरूको अनुभव छ । गरुडा बजार तथा आसपासका क्षेत्रमा प्रहरीको गस्ती बढाइएको छ भने शंकास्पद गतिविधिहरूको कडा निगरानी कायम गरिएको छ ।

पहिले इलाका प्रहरी कार्यालयमा सेवा लिन वा जाहेरी दर्ता गर्न नागरिकले राजनीतिक दलका नेता वा बिचौलियाको सहारा लिनुपर्ने बाध्यता सामना गर्नुपर्ने भएपनि अहिले डिएसपी आचार्यले कार्यभार सम्हालेपछि प्रहरी सेवा पूर्ण रूपमा दलालमुक्त भएको स्थानीयको भनाइ छ ।

डिएसपी आचार्य न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँछन् । शक्ति वा पहुँचको आधारमा दोषीलाई छुट दिने पुरानै अभ्यासलाई उनले चुनौती दिएका छन् । उनी भन्छन्, “दोषी जतिसुकै शक्तिशाली भए पनि कानुनको कठघरामा उभिनै पर्छ । न्याय सम्पादनमा म कुनै सम्झौता वा भेदभाव गर्दिनँ ।”

स्थानीयहरूले प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार्दै पीडितमैत्री वातावरण निर्माण गरेकोमा डिएसपी आचार्यको खुलेर प्रशंसा गरेका छन् । गरुडाका एक स्थानीयले भने, “पहिले थाना जान डर लाग्दथ्यो, नेता खोज्नुपर्थ्यो । अहिले डिएसपी साबले गर्दा हामी आफैं गएर आफ्नो समस्या राख्न सक्छौं । काम पनि पारदर्शी ढंगले भइरहेको छ ।”

डिएसपी आचार्यले आफ्नो कार्यकालभर गरुडा क्षेत्रमा कानुनको शासन कायम राख्ने र पीडितलाई न्याय, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सुरक्षा क्षेत्रमा उनको सक्रियताले रौतहटमा नयाँ आयाम थपेको स्थानीयहरू बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर