
पेरिस, फ्रान्स : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौंको ज्यान जानेगरी भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि इरानले सोमबार इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका छन् । सुरुमा आर्थिक गुनासोबाट सुरु भएको दुई हप्ताभन्दा बढी लामो विरोध प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा शासन गर्दै आएको इस्लामिक प्रशासनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।
संकटको गम्भीरताको संकेतपछि इरानी अधिकारीहरूले ८४ घण्टादेखि इन्टरनेटमा प्रतिबन्ध लगाएका छन् । सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउनु अधिकारकर्मीहरूको बुझाइमा इरानमा चलिरहेको आन्दोलनबारे नागरिकलाई यथार्थ तथ्य लुकाउनु र जानकारी बाहिरिन नदिनु हो । नर्वेमा मुख्यालय रहेको एक इरानी गैरसरकारी संस्था इरान ह्युमन राइट्स (आईएचआर)ले कम्तीमा १ सय ९२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ ।
‘अप्रमाणित रिपोर्ट अनुसार सयौंको संख्यामा आन्दोलनकारीको मृत्यु भएको छ । आइएचआरले भनेको छ, ‘केही स्रोतले आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी पुगेको हुनसक्ने र २ हजार ६ सय भन्दा बढी पक्राउ परेका छन् ।’ इरानमा प्रतिबन्धित विपक्षी समूह पिपुल्स मुजाहिद्दिन (एमइके)ले आफ्नो स्रोतलाई उद्धृत गर्दै तीन हजारभन्दा बढी व्यक्ति मारिएको बताएको छ । इरानको सरकारी मिडियाले सुरक्षा बलका दर्जनौं सदस्यहरू मारिएको र उनीहरूको अन्त्येष्टि सरकार समर्थक र्यालीमा परिणत भएको बताएको छ ।
इरानबाट निस्किने समाचा् संस्था तथा पत्रपत्रिकाहरूले प्रदर्शनको आकर्षण क्रमशः घट्दै गइरहेको बताएका छन् । तेहरानका गभर्नर मोहम्मद सादेग मोटामेदियनलाई उद्धृत गरी एक टेलिभिजनमार्फत प्रशारित अन्तवार्तामा प्रदर्शन घटिरहेको बताइएको छ । सरकारले ‘दंगा’ का पीडितहरूका लागि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेसँगै सोमबार तेहरानमा प्रदर्शन निकालिएको छ । इस्लामिक गणतन्त्रको संस्थापन पक्षधरहरूले प्रदर्शनमा व्यापक सहभागिता भएको तस्बिर प्रसारण गरेको छ । –रासस/एएफपी