२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सातौं अर्घाखाँची महोत्सव सुरु, ५ करोड बढी कारोबार हुने अपेक्षा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ पुष २७ गते २१:५३
Shares
सातौं अर्घाखाँची महोत्सव सुरु, ५ करोड बढी कारोबार हुने अपेक्षा

अर्घाखाँची : सातौं अर्घाखाँची महोत्सव सन्धिखर्कको कुँडुलेफाँटमा सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार : स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नाराका साथ आइतारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले उद्घाटन गरेका हुन् । महोत्सव माघ ११ गतेसम्म चल्ने मुख्य आयोजक संस्था अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

ncell

महोत्सवमा जिल्लाका ६ वटा स्थानीय तहमा रहेका विभिन्न परम्परागत कला, संस्कृति र झाँकी प्रदर्शन गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

महोत्सव उद्घाटनमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नेता यमराज पाण्डे, नेकपा एमालेका नेता केवी भुसाल, नेपाली कम्युनिस्ट पार्टीका नेता रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश विकल्प, राष्ट्रिय जनमोर्चाका नेता गोपाल पौडेल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र, पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना राखेका थिए । 

उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्था, सरोकारवाला लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियोे । अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठका अनुसार मेलामा ३ सय भन्दा बढी स्टल राखिने र जिल्लाको स्थानीय कृषि, दुग्धजन्य उत्पादनका लागि स्टलमा ५० प्रतिशत छुट गरिएको छ ।

जिल्लाका पर्यटकीय स्थलको व्यापक प्रचार, गाउँमा उत्पादन भएका सुन्तला, तरकारी, दुग्धजन्य वस्तु, मसलाबालीका उत्पादन, खाद्यवस्तु, महलगायत सबै स्टलमा राख्न कृषि कर्म, सहकारी, कृषक समूहले स्टल राख्ने उनले बताए ।

स्थानीय विभिन्न जातिको भेषभूषासहितको कला प्रदर्शन गरिएको थियोे । आयोजकका अनुसार महोत्सव करिब ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको चेम्बर अफ कमर्सका उपाध्यक्ष लिलाधर बस्यालले बताए । जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा उत्पादित बस्तुको बिक्री वितरण गर्न तथा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा गरिएको समेत बस्यालको भनाइ छ ।

ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मूल उद्देश्यले महोत्सव सञ्चालन गरिएको स्टल व्यवस्थापन समितिका सयोजक ज्ञानबहादुर विकले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर