२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पुरानै शैलीले अब नयाँ यात्रा सम्भव छैन : विश्वप्रकाश शर्मा

Nada
२०८२ पुष २७ गते १८:४२
Shares
पुरानै शैलीले अब नयाँ यात्रा सम्भव छैन : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र पार्टी दुवै बदलिएको सन्दर्भमा अब पुरानै सोच, व्यवहार र राजनीतिक शैलीले भविष्य निर्माण गर्न नसकिने स्पष्ट पारेका छन् । आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउन वैचारिक र व्यवहारिक रूपान्तरण अपरिहार्य भइसकेको बताए ।

ncell

महामन्त्री शर्माका अनुसार वर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति अघिल्ला दशकहरूभन्दा पूर्णतः फरक छ । त्यसैले, कांग्रेसले पनि आफूलाई समयअनुसार पुनर्संरचना गर्नुपर्ने अवस्था आएको छ । ‘हामी अहिले जुन युगमा छौँ, त्यो पुराना आनीबानीले चल्दैन । नयाँ यथार्थसँग जुध्न नयाँ सोच, नयाँ साहस र नयाँ निर्णय आवश्यक छन्,’ उनले भने ।

उनले कांग्रेसभित्र विगतमा भएका कमजोरीहरू स्वीकार नगरी पार्टी अगाडि बढ्न नसक्ने बताए । नेतृत्व तहका त्रुटिमा आफूहरू पनि जिम्मेवार रहेको स्वीकार गर्दै शर्माले आत्मालोचना नै लोकतान्त्रिक राजनीतिक संस्कृतिको आधार भएको उल्लेख गरे । 

महामन्त्री शर्माले कांग्रेस केवल पार्टी सुदृढीकरणमा सीमित नभई कमजोर बनेको देशलाई पुनः सबल बनाउने अभियानमा लागिरहेको बताए । उनले देश भौतिक रूपमा मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि थिलथिलो बनेको उल्लेख गर्दै भने, ‘हामी भवन मात्र होइन, नागरिकका मन पनि जोड्न चाहन्छौँ । यही कारणले विशेष महाधिवेशन बोलाइएको हो, ताकि देशलाई नयाँ सन्देश दिन सकियोस् ।’

उद्घाटन सत्रमै महामन्त्री शर्माले राजनीतिक नेतृत्वमा दीर्घकालीन एकाधिकार अन्त्य गर्न ऐतिहासिक निर्णय गर्न विशेष महाधिवेशन तयार रहेको बताए । उनले पार्टीले अब दुईपटकभन्दा बढी कुनै पनि व्यक्तिलाई प्रधानमन्त्री बन्न नदिने नीति अंगीकार गर्ने घोषणा गरे ।

उनका अनुसार यस प्रस्तावबारे पार्टीभित्र लामो समयदेखि छलफल भइरहेको छ । उनले सभापतिलाई यसअघि नै पटक–पटक यस्तो सुझाव दिएको पनि सार्वजनिक गरे । ‘मैले धेरैपटक सभापतिजीलाई छैटौँ पटक प्रधानमन्त्री नबन्नुस् भनेर सुझाव दिएको थिएँ । त्यो सुझाव मानिएको भए सायद अहिले उहाँ अभिभावकका रूपमा सम्मानित हुनुहुन्थ्यो,’ शर्माले भने ।

ताजा खबर

सम्बन्धित खबर