२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

Nada
२०८२ पुष २७ गते १२:२४
Shares
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

सिन्धुपाल्चोक : भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्ध किल्ला दुगुना गढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ ।

ncell

विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिक स्थल दुगुना गढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्ध किल्ला दुगुना गढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुना गढी पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुना गढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन् । 

स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ सालमा श्री ३ जंगबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो । जति बेला नेपाल भोटबीच खटपट चलिरहेको थियो । युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । उनका अनुसार राष्ट्रकै पुरातात्त्विक सम्पदाभित्र पर्ने दुगुना गढीबाट नेपाल र तिब्बतबीच तीन पटकसम्म भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएका थिए । भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ ।

यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यस बेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठ बत्ताउँछिन् । प्राचीन सभ्यतालाई प्रतिबिम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान  भएको भोटेकोसी गाउँपालिका– ३ का वडाध्यक्ष निमासोना शेर्पा बत्ताउँछिन् । चारैतिर हिमालले घेरिएको दुगुना गढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै इतिहास झल्काउने गरी काम भइरहेको शेर्पाको भनाइ छ ।

बढी जसो इतिहासका बारेमा चासो राख्नेहरू यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएका रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् । यो स्थानमा एक पटक पुगेकाहरू पुनः साथीभाइ, परिवार र आफन्त लिएर समेत जाने गरेका छन् । नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग/बाटो तथा कोटको पहिचान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर