२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

Nada
२०८२ पुष २३ गते १४:३५
Shares
धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

धनुषा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो ।

ncell

हालसम्म छ हजार २७५ क्विन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि नाम दर्ता गराएका कार्यालयका वरिष्ठ सहायक जयकिशनप्रसाद चौधरीले जानकारी दिए।

कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको उनले बताए । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार कम्पनीको गोदाम नजिक दुई वटा काँटा राखी बिहान १ बजेदेखि साँझ ५ बजेसम्म किसानले ल्याएका धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरीका १६५ जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका उनले जानकारी दिए ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका बढी रहेका उनले बताए । कम्पनीका अनुसार दैनिक पाँचदेखि १५ जना किसानको धान खरिद भइरहेको छ ।

कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए । सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ रुपैयाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयका गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले बताए ।

ताजा खबर

सम्बन्धित खबर