२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात-निर्यात घट्यो

Nada
२०८२ पुष २३ गते १०:०१
Shares
तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात-निर्यात घट्यो

मुस्ताङ  : नेपाल-चीन उत्तरी कोरला नाकाबाट आयात-निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने आयात-निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

ncell

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँच पासका लागि ‘पेन्डिङ’मा रहेका बताए। भन्सार जाँच पासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरला नाकाबाट  थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ । 

यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५-२० वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुने गरेकामा हाल त्यो सङ्ख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट भित्रिएका माल वस्तुको भन्सार जाँच पास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व संकलन भइसकेको छ । कोरला नाकाबाट हालसम्म ११ अर्ब बढीको माल वस्तु आयात भएको र नेपालबाट रु. १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन माल वस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।

सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरला नाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लो पटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरला नाकाबाट नेपाल भित्र्याएको छ । कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो । 

प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात–निर्यात कारोबार शून्य नहुने दाबी गरे । उनले भने “रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात–निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरला नाकाबाटै आयात निर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।”

यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेँसी झरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर