२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रौतहटमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २२ गते २१:११
Shares
रौतहटमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

रौतहट : धनुषामा हालै घटेको धार्मिक तथा सामाजिक सद्भाव  भड्काउने घटनाका कारण रौतहटमा समेत सुरक्षा चुनौती र सामाजिक सद्भाव बिग्रन सक्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सक्रियता देखाएको छ । जिल्लामा शान्ति सुव्यवस्था र आपसी भाइचारा कायम राख्ने उद्देश्यले मंगलबार सदरमुकाम गौरमा एक बृहत् सर्वपक्षीय बैठक सम्पन्न भएको हो । 

ncell

जिल्ला प्रशासन कार्यालयको आह्वानमा जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित उक्त बैठकको अध्यक्षता जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका थिए । बैठकमा रौतहटमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धर्मका गुरु तथा धर्मगुरुहरू, नागरिक समाजका अगुवा, समाजसेवी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । 

बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले प्रविधिको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउने तत्वहरू सक्रिय रहेको बताए । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालमा अपलोड भइरहेका भ्रामक भिडियो र फोटोहरूका कारण समाजमा अनावश्यक उत्तेजना र अशान्ति फैलिएको पाइएको हो। यस्ता गतिविधिमा संलग्न हुनेहरूमाथि प्रशासनले सूक्ष्म निगरानी राखिरहेको छ ।’

उनले बंगलादेश वा अन्य कुनै पनि मुलुकमा हुने घटनालाई आधार बनाएर नेपालको पुस्तौंदेखिको आपसी सद्भाव र एकतालाई बिथोल्न नहुनेमा जोड दिए । ‘वर्षौँदेखि मिलेर बसेको हाम्रो समाजमा एक–अर्काको विरोधी हुने, मानमर्दन गर्ने वा द्वन्द्व सिर्जना गर्ने कार्य क्षम्य हुँदैन। यदि कसैले यस्तो गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ,’प्रमुख जिल्ला अधिकारी भुसालले भने । 

बैठकको अन्त्यमा जिल्लामा कुनै पनि प्रकारको धार्मिक वा जातीय खलल पुग्न नदिने र आपसी एकता कायम राख्ने भन्दै सहभागीहरूले लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । यसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र आम जनता पार्टी (आजपा) का प्रतिनिधिहरू, हिन्दु तथा मुस्लिम समुदायका धर्मगुरुहरू, नागरिक समाज तथा स्थानीय सञ्चारकर्मीहरू सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सबै पक्षले एकै स्वरमा रौतहटमा धार्मिक सहिष्णुता कायम राख्न र कुनै पनि उक्साहटमा नलाग्न जिल्लाबासीलाई सामूहिक अपिल समेत गरेका छन् ।
प्रशासनले अफवाहको पछाडि नलाग्न र समाजमा शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न समेत अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर