२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

Nada
सन्तोष पौडेल
२०८२ पुष ९ गते २०:५२
Shares
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

‎बर्दिया : ‎बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा विश्वकै लोपोन्मुख पाटेबाघको अनुगमन तथा गणना कार्य बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । 

ncell

बाघको वास्तविक संख्या, घनत्व, आहाराजन्य प्रजाति र बाघले ओगटेको क्षेत्र पहिचान गर्ने उद्देश्यले क्यामेरा ट्र्यापिङ प्रविधिमार्फत गणना कार्य अघि बढाइएको हो ।

‎बाघ गणनाका लागि बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक, निकुञ्ज सुरक्षामा खटिएका नेपाली सेना तथा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरूलाई आवश्यक तालिम दिएपछि फिल्डमा परिचालन गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

‎संघीय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ गणनाको शुभारम्भ गरेका हुन् । निकुञ्जका अनुसार गणना कार्य करिब ९० दिनसम्म सञ्चालन हुनेछ । यसका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई चार वटा ब्लकमा विभाजन गरी जम्मा ९ सय १२ वटा ग्रिड कायम गरिएको छ । तीमध्ये ८ सय ३२ ग्रिडमा ४ सय ५२ वटा स्वचालित क्यामेरा जडान गरिनेछ । गणनामा ५६ जना जनशक्ति र ६ वटा हात्ती प्रयोग गरिनेछ ।

‎यस वर्ष पहिलो पटक दाङ जिल्लामा पनि बाघको अनुगमन तथा गणना कार्य समावेश गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रलाई पहिलो ब्लक, बर्दियाको खाता कोरिडोर, सामुदायिक वनका केही भाग र बाँके राष्ट्रिय निकुञ्जका केही क्षेत्रलाई दोस्रो ब्लक तथा बाँके राष्ट्रिय निकुञ्जको बाँकी सम्पूर्ण क्षेत्रलाई थप ब्लकहरूमा विभाजन गरी गणना गरिनेछ ।

‎बाघ गणना कार्यका लागि नेपाल सरकारसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जुलोजिकल सोसाइटी अफ लण्डन र डब्लुडब्लुएफ नेपालको सहयोग तथा सहकार्य रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ९ सय ६८ वर्ग किलोमिटर र बाँके राष्ट्रिय निकुञ्जको ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा ब्लक बनाएर बाघ गणना तथा अनुगमन सुरु गरिएको हो ।

‎सन् २०१८ को राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा २ सय ३५ वटा बाघ रहेका थिए, जसमा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ थिए । सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको संख्या बढेर ३ सय ५५ पुगेको छ । त्यसमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन् । नेपालमा राष्ट्रिय बाघ गणना प्रत्येक चार वर्षमा गरिँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर