२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

काठमाडौं महानगरभित्रका १०७ विद्यालय बन्द गर्ने तयारी (सूचीसहित)

Nada
२०८२ पुष ९ गते १७:१९
Shares
काठमाडौं महानगरभित्रका १०७ विद्यालय बन्द गर्ने तयारी (सूचीसहित)

काठमाडौं : काठमाडौं महानगरपालिकाले अभिलेखमा मात्रै रहेका तर स्थलगत रूपमा सञ्चालनमा नदेखिएका १०७ वटा विद्यालय बन्द गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले सोमबार बैठक बसेर ती विद्यालयको सञ्चालन अनुमति खारेज गर्दै कार्यपालिका बैठकमा सिफारिस गर्ने निर्णय गरेको हो ।

ncell

महानगरका अनुसार पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित विद्यालय पक्ष सम्पर्कमा नआएको तथा फिल्डमा विद्यालय नै नदेखिएपछि सदाका लागि बन्द गर्ने तयारी अघि बढाइएको हो । शिक्षा विभागका शिक्षा अधिकृत ओमप्रसाद गौतमले अनुमति लिएर कहिल्यै सञ्चालन नगरेका र सञ्चालनमा आएर पछि बन्द भएका विद्यालयसमेत उक्त सूचीमा परेको जानकारी दिए ।

उनका अनुसार अभिलेखअनुसार सञ्चालनमा देखिए पनि वास्तविक रूपमा फिल्डमा नदेखिएका सबै विद्यालयलाई अन्तिम सूचना जारी गरिएको थियो । तर तोकिएको समयभित्र पनि कोही सम्पर्कमा नआएपछि विद्यालय बन्द गर्ने निर्णय गर्न लागिएको हो ।

गौतमले यसअघि नै साउन महिनामा शिक्षा विभागको बैठकले विद्यालय अनुमति खारेज गर्ने निर्णय गरिसकेको बताए। त्यसयता पनि कुनै विद्यालय सम्पर्कमा नआएपछि विभागको निर्णयलाई कार्यपालिका बैठकमा पेस गर्ने गरी विद्यालयको सूची सार्वजनिक गरिएको उनले स्पष्ट पारे ।

महानगरको वेबसाइटमा प्रकाशित सूचीअनुसार यदि ती विद्यालयहरू वास्तवमै सञ्चालनमा रहेका भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठियारले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा उपस्थित भई प्रमाणित गर्नुपर्नेछ । काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) अनुसार विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गर्ने व्यवस्था छ ।

महानगरपालिकाको नगरसभा बैठक यही शुक्रबार बस्ने तय भएको छ, जहाँ उक्त प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर