२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

Nada
२०८२ पुष ९ गते १०:३९
Shares
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

तनहुँ : पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन ।

ncell

गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन् । पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिए ।

उनका अनुसार पुलको ‘स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुईवटा ‘स्पान’मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । हामीले निर्माण कम्पनीलाई २०८२ साल चैत मसान्तसम्ममा काम सक्न निर्देशन दिइसकिएको छ”, उनले भने, “व्यास र ऋषिङलाई जोड्ने यस पुल हाम्रो समृद्धिको आधार हो । तर पाँच वर्षसम्म पनि अलपत्र हुनु अत्यन्तै दुःखद् पक्ष हो । विकासका काममा हुने यस्तो ढिलासुस्तीले गरिनुहुँदैन ।”

गण्डकी प्रदेश सरकारले रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशतमात्र पुलको भौतिक प्रगति भएको छ । निर्माण भइरहेको पुल १५५ मिटर लामो र ‘स्टिल ट्रस’ प्रकृतिको हुनेछ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीनपटक म्याद थप भइसकेको छ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै जिल्लाको ग्रामीण मानिएको दक्षिण भेगबाट आवतजावत गर्ने मुख्य पुल हो ।

पाइल फाउन्डेसनमा आधारित यस पुल ९.५ मिटर चौडा हुनेछ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माणस्थलमा केही चहलपहल बढेको छ । यद्यपि पटकपटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै चिन्तित बनेका छन् ।

ताजा खबर

सम्बन्धित खबर