२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बाढीले क्षति पुर्‍याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

Nada
२०८२ पुष ८ गते ०८:५७
Shares
बाढीले क्षति पुर्‍याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रेपलाञ्चोक : जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्रांगबेँसीमा रहेको तीन तले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढी पहिरोले झरनालाई क्षति पुर्‍याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।

ncell

प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु. ३५ लाख लगानी गरी थप संरचना निर्माण गरिएको थियो । हाल गाउँपालिकाको रु. १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन थालिएको हो । यो झरनामा बाढी पहिरोले क्षति पुर्‍याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुटाएर पुनर्निर्माण गर्न थालेका हौँ ।

उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिना बताउँछन्। उनका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेष गरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्रांगबेँसीको च्यालम-फाइमराङबीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो । 

महाभारत पर्वत शृङ्खलाको जंगल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीन तले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण बनेको थियो । झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताए । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबै खाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।

हाल तीन तले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटेल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरक फरक मार्गको प्रयोग गर्न सकिन्छ ।

काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडक यात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ भने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेष गरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्रांगबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।

ताजा खबर

सम्बन्धित खबर