२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ललितपुरमा मिडिया साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Nada
२०८२ पुष ६ गते ०७:५६
Shares
ललितपुरमा मिडिया साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरतासम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ncell

पत्रकारितामा अभ्यास गरिरहेका पत्रकारहरूलाई लक्षित गरेर महासंघ ललितपुर शाखाको आयोजनामा मिडिया साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि आयोजना गरिएको थियो ।

ललितपुर जिल्लाभित्र रहेर पत्रकारितामा अभ्यास गरिरहेका पत्रकारहरू तथा पत्रकारिता क्षेत्रमा आउन खोज्ने नयाँ विद्यार्थीहरूलाई समावेश गरेर अभिमुखीरण कार्यक्रम आयोजना गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सञ्चारको महत्व र भूमिकाको बारेमा जानकारी दिँदै समाचार सम्प्रेषणका माध्यम र तौरतरिकाका बारेमा जानकारी दिएका थिए । 'आम सञ्चारका धेरै माध्यमहरू हुन्छन्, पत्रकारकारिता एउटा माध्यम हो, अहिलेको दुनियाँमा सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने क्रम बढ्दै गरेको अवस्थामा छ, उनले भने ।'

उनले पत्रकारितामार्फत आमसञ्चार माध्यममा तथ्यपरक र यथार्थ सूचनामात्रै सम्प्रेषण हुने जानकारी गराउँदै सामाजिक सञ्जालमा आउने सबै सूचना सही र सत्यतथ्य नहुने बताए । 

'पत्रकारले सत्य र तथ्य सूचना प्रवाह गरेको हुन्छ, तथ्य र तथ्याङ्कलाई विश्लेषण गरेर लेखेको हुन्छ, सामाजिक सञ्जालमा लेख्ने सबैले सत्य र तथ्य सूचना प्रवाह गरेका हुँदैनन्, यी सूचनाहरू लाइक गर्नु, प्रतिक्रिया दिनु र आफूले अरुलाई प्रवाह गर्नु गलत कार्य पनि हुन्छ, यस्तो कार्यले समस्या आउन पनि सक्छ, उनले भने ।' 

उनले अबको युगमा पूर्वाधारको विकाससँगसँगै प्रविधिको तीव्र विकास अनुसार सामाजिक विकासलाई जोड दिन मानिसको ’व्रेन’को विकासमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले समाजको विकासभन्दा प्रविधिको विकास तिव्र रुपमा बढिरहेको भन्दै प्रविधिको माध्यमबाट प्रवाह हुने सत्य र असत्य सूचनाहरू छुट्याउन सक्नुपर्ने बताए । उनले हरेक नागरिकले मिडिया साक्षरता सम्बन्धि जानकारी लिनुपर्ने आवश्यकता रहेको बताउँदै मिडिया साक्षरता समाजका लागि अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे । 

मिडिया साक्षरता स्रोताको शैक्षिक स्तर र बुझाइमा निर्भर हुने महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले बताए । मिडियाप्रति बढ्दै गएको भरोसाले मिडियाले पस्कने सूचना सामग्रीको विश्लेषण प्रक्रियालाई समेत प्रभावित बनाउने अध्यक्ष रामहरि कार्कीले बताए । 

कार्कीका अनुसार मिडियाकर्मीले सूचना वा सन्देश निर्माण गर्दा त्यसले सम्भावित व्यक्ति एवम् सर्वसाधारणमा पार्ने प्रभावबारे गम्भीर मनन गर्नु आवश्यक छ । मिडियामा सूचना दिने मात्र नभै, त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार भवानी बरालले पत्रकारिताको आधारभुत अवधारण, फोटो पत्रकार विकास कार्कीको फोटोको प्रयोग, पत्रकार जीवन भण्डारीले पत्रकारितामा एआईको प्रयोगबारे प्रशिक्षण दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर