२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अवकाशपछिको जाँगर: मौरी पालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

Nada
२०८२ पुष ३ गते ०९:३२
Shares
अवकाशपछिको जाँगर: मौरी पालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

बाँके : धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् ।

ncell

बर्दिया बढैयाताल गाउँपालिका-६ मैना पोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् ।उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाएका छैन, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । खत्री विगत चार वर्षदेखि मौरी पालनमा रमाइरहेका छन् ।

२५ घारबाट सुरु गरिएको उनको व्यावसायिक यात्राले हाल उनलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायी पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु. २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काट्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाए ।

उनले भने, “बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु. ५०० र जंगली मह रु. ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।” यसरी आम्दानी गर्न उनको संघर्ष पनि कम छैन । उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गरेका छन् ।

जंगली महका लागि सिसौको रसका लागि बढैया तालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिए । “मौरी पालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ । मह काट्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु. एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।”

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काट्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उनले यस व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उनले सुनाए ।

खत्रीले आत्मविश्वासका साथ भने, “मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पुर्‍याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।”

ताजा खबर

सम्बन्धित खबर