२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौं : सञ्चारमन्त्री खरेल

Nada
२०८२ मंसिर २४ गते १८:१८
Shares
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौं : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहेको बताए ।

ncell

मन्त्री खरेलले भने, “म पत्रकार महिला साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाँइहरूको दोहोरो जिम्मेवारी छ, पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने पनि दायित्व छ । त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरू र एडभोकेसीहरू कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्‍यो ।”

सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे । “तपाईं परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईंको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाईंलाई असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । किनकि प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ ।”

No description available.

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारिता तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरूमा आइराख्दा यसले ठुलो अर्थ दिने उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसंग जोड्दै अगाडि थपे, “संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वहरूसँग अन्तरंग कुराकानी भयो । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो- थाहा छ जगदीशजी तपाईंहरू पुरुष, हामी महिला । तपाईंहरूले एउटा सिन्को भाँच्दा, हामीले तीन वटा सिन्का भाँच्नुपर्छ, हामी त्यति दुःख गरेर आएका छौं, त्यसमा नेपाली महिलाहरूले आफ्नो करियरका लागि जिन्दगीमा गरेको संघर्षको प्रतिक हो ।”

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे । उनले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठुला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिए ।

सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याइन् । उनले लैंगिक हिंसा मानवअधिकारको बाधक भएको बताउइन् ।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) की अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालकी सदस्य निमा काफ्लेलगायतले कार्यस्थलको हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर