पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुरमा ईलाका प्रहरी कार्यालय बेलाटारी तथा मातहत प्रहरी टोलीको संयुक्त गस्तीले भन्सार छली गरी अवैधरूपमा नेपाल भित्र्याइएका सामानहरू बरामद गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो प्रतापपुर गाउँपालिका–०७, जगन्नाथपुरस्थित क्षेत्रमा छापा मार्दा डेक्ची (ठूला–साना) ३६ वटा, टेन्ट डण्डी ३२ पिस, सर्भिङ प्लेट १८ वटा, बाटा १९ वटा र टेन्ट पर्दा १६ पिस गरी कुल अन्दाजी दुई लाख दश हजार आठ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
उक्त सामानहरू वेवारिसे अवस्थामा भेटिएको र अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तले जानकारी दिए ।