२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

उमेर हदको राजनीति

२०८२ जेठ ३० गते ०६:१०
उमेर हदको राजनीति

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पंक्तिमा सक्रिय राजनीतिको उमेर हद यतिबेला छलफलको विषय बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक पनि एमाले अध्यक्ष बन्ने आँकलन भइरहँदा पार्टी नेतृत्व पंक्तिबाटै उमेर हदको एजेण्डा सार्वजनिक भएको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हदको व्यवस्था कायमै राख्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । सँगै कार्यकारी पद (पदाधिकारीमा) मा लगातार दुई कार्यकाल भन्दा बढी बस्न नपाइन पार्टी विधानको व्यवस्था पनि कायमै राख्नुपर्ने पोखरेलले बताएका हुन् । एमाले राजनीतिमा वरिष्ठ उपाध्यक्ष पोखरेलको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि उनी यो पार्टीका संस्थापक नेता हुन्, र एउटै पदमा दुईपटक मात्र बस्न पाइने पार्टी विधानको व्यवस्था मानेर महासचिव पद छोडेका थिए ।  

उनै नेता पोखरेल सहितका पंक्तिले उमेर हद र एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था सम्झाएका छन् । आगामी भदौ तेस्रो साता विधान महाधिवेशनको मिति तय भएकाले यो एजेण्डा एमालेभित्र पेचिलो बन्ने देखिएको छ । किनकि यो एजेण्डाकै कारण एमालेका भावी नेतृत्व तय हुनेछ । यदि पार्टी विधानको धारा ६४ मा रहेको यो व्यवस्था कायमै रहे प्रधानमन्त्री ओलीले एमाले अध्यक्ष छोड्नुपर्नेछ । किनकि उमेरले ७४ वर्ष पुगेका ओली दुईपटक एमाले अध्यक्ष भइसके । तर विधानको उक्त व्यवस्था खारेज गरेर जाने प्रष्ट संकेत ओलीले दिइसकेका छन् । त्यसैले यो एजेण्डा एमालेभित्र पेचिलो बन्ने देखिन्छ । 

ओली निकटका नेताहरुले पार्टी र एमाले विरोधीहरुले उमेर हदको विषय उठाएको तर्क गर्न थालेका छन् । तर अर्को पक्षले एमाले जोगाउन पनि पार्टी विधानको यो व्यवस्था कायमै राख्नुपर्ने तर्क गरेका छन् । उनीहरुका भनाइमा युवा पुस्तामा एमालेको आकर्षण कायमै राख्न पनि नेतृत्व परिवर्तनको आवश्यकता छ । यो दुई खाले संघर्षमा कुन पक्ष निर्णायक हुन्छ भन्ने विधान महाधिवेशनबाटै प्रष्ट हुनेछ । तर नेपाली राजनीतिमा यो बहस अरु पार्टीहरुमा पनि आवश्यक देखिन्छ । किनकि अहिले प्रमुख दलका नेतृत्व लगभग सीमित नेताहरुको कब्जामा छ । सीमित व्यक्तिको कब्जामा हुने शासन प्रणाली लोकतन्त्र होइन । तसर्थ लोकतन्त्रलाई बलियो बनाउन पनि एमालेमा यो बहस आवश्यक छ । 

ADV

सम्बन्धित खबर