२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

कर्णालीका खेलाडी छोरीको पीडा- राज्यले वास्तै गर्दैन

कुलेन्द्र शाही
२०८२ वैशाख २९ गते १६:५०
कर्णालीका खेलाडी छोरीको पीडा- राज्यले वास्तै गर्दैन

सुर्खेत : जाजरकोटकी कामना विष्ट भलिबल खेलाडी हुन् । उनले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ठूला भलिबल प्रतियोगितामा सहभागिता जनाएर कर्णालीको नाम उच्च पारेकी छन् । 

जाजरकोट सदरमुकाम खलंगाकी विष्टको परिवारका धेरै जसो सदस्यहरू कुनै न कुनै खेलसँग आवद्ध छन् । यसै कारणले पनि उनलाई खेलप्रति रुचि जागेको हो । र भलिबलको कुशल खेलाडी बन्न पुगिन् । जाजरकोटबाट सुरु भएको उनको खेल यात्रा विभागीय टिम नेपाल पुलिस क्लबमा आवद्ध भएपछि निखारिएको छ ।

शनिबारदेखि वीरेन्द्रनगरमा तेस्रो दिन जारी श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णालीका खेलाडी छोरी’ सत्रमा आफ्ना खेल जीवनका अनुभव सुनाइन् । सानै उमेरको रुचिले खेल क्षेत्रमा लागेकी उनी यही क्षेत्रमा खेलसँगै आफ्नो भविष्य उज्जवल बनाउन भने निकै चुनौती झेल्नुु परेको छ । 

‘स्कुलदेखि नै खेल खेल्थें । खेल भनेको केही पाउनका लागि मात्र खेलिदैन’ विष्टले भनिन्, ‘हामीलाई खेलले अनुशासन सिकाउँछ । खेल खेलेर के हुन्छ ?’ 

उनका अनुुसार कुशल खेलाडी बन्न पनि धेरै चुनौति छ । ‘हाम्रा समस्याहरू पनि थुप्रै छन् । प्रशिक्षणदेखि प्राविधिक पक्षमा महिलालाई निकै चुनौती झेल्नु परेको छ’, सत्रका सहजकर्ता पत्रकार मधुवन विसीले खेलकुदमा छोरीका सम्भावना र चुनौतीका विषयमा राखेको प्रश्नको जवाफ दिदै विष्टले भनिन् ।

अन्तराष्ट्रियस्तरमा भएका अभ्यासको तुलनामा नेपाली महिला धेरै पछाडि रहेको उनको अनुभव छ । 

प्रतिस्पर्धा गरिने सबै खेलमा जित हासिल गर्न नसकिनुका पछाडि यावत कारण जोडिने बताउदै उनले नेपाली महिला भलिबलको प्रदर्शन जहिले पनि उत्कृष्ट नै रहेको बताइन । ‘निरन्तरको प्रशिक्षणले मेडल आउँछ भन्न सकिदैन । प्राविधिक रूपमा व्यवस्थित प्रशिक्षण, सेवा र सुविधाको व्यवस्थित परिचालन गर्न नसकिए नतिजा हासिल गर्न मुस्किल पर्छ,’ विष्टले भनिन् । 

यस्तै, सुर्खेतकी एलिसा रास्कोटी कराते खेलाडी हुन् । उनले पनि खेलाडी भएर निकै चुनौतीको सामना गरिरहनु परेको छ । छोरा सरह छोरीले पनि खेल्न सक्छन भन्ने प्रमाणित गर्न खेल क्षेत्रमा लागेकी उनले पनि ठुला प्रतियोगिताका मेडल उचालेकी छन् । तर उनलाई पनि आर्थिक अवस्थादेखि कर्णालीको खेलकुद पूर्वाधार देखेर दिक्क लाग्छ । ‘कर्णालीमा पूर्वाधार तथा आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरू अगाडि बढ्न सकेको अवस्था छैन । प्रदेश सरकारले यस विषयमा ध्यान पु¥याउनै सकेको छैन,’ उनले भनिन् । 

आर्थिक समस्याकै कारण महिला खेलाडीलाई पलायन हुनुपर्ने बाध्यता रहेको उनले सुनाइन । सत्रमा सहभागी हम्लाकी फुटबल खेलाडी दीपा शाहीको अनुभुतिमा पनि सरकार कहीँ भेटिएन । मेहनतका साथ खेलिएको खेलबाट मेडल उचाल्दा अन्य प्रदेशले खेलाडीलाई उच्च सम्मान गर्ने गरेको उल्लेख गर्दै उनले कर्णाली प्रदेश सरकारले यहाँका खेलाडीलाई चिन्नै नसकेको गुनासो गरिन् ।
सरकारले नेपाली खेल र खेलाडीप्रति हेर्ने दृष्टिकोणका कारण आफ्नो मनोबल उच्च हुन नसकेको उनको दाबी छ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुने तयारीमा रहेकी उनलाई सरकारको कार्यशैली कत्ति पनि चित्त बुझेको छैन । 
‘हाम्रो प्रदेशमा गएको मंसिरमै हुने भनिएको दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकिरहको छैन । कर्णालीमा पूर्वाधारको कमी छ, त्यो बनाउन पर्छ । राम्रो प्रशिक्षणको अभाव छ, त्यसलाई पनि व्यवस्थित बनाउनु पर्दछ । तर अनेक बहानाले कर्णालीमा खेलकुदका गतिविधिहरू रोकिनु हुँदैन,’ उनले भनिन् । राज्यले खेलकुद इतिहासकै ठूलो प्रतियोगिता आयोजना गर्न नसक्नु आफैमा लज्जास्पद भएको उल्लेख गर्दै उनले यसबाट खेलाडीहरू निराश हुन पुगेको बताइन् । खेलाडीलाई खेल क्षेत्रमा आकर्षण गराउन निरन्तर प्रतियोगिता भइ राख्नु पर्ने तर्क उनले राखिन । 

श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै २ सय बढी छोरीहरू सहभागि छन् ।
 

ADV

सम्बन्धित खबर