भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको बताए ।
‘संघीयताको हामी अहिले अभ्यासमा छौँ, यो नेपालमा विल्कुल नयाँ संरचना अन्तर्गत प्रदेश हो । प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका छौं । सुरुमा कानुन निर्माण गर्ने काम भयो । अब संघीयताको सवलीकरणका लागि प्रदेशलाई बलियो बनाउने गरी भूमिका बढाइरहेका छौं’ मुख्यमन्त्री आचार्यले भने,‘अहिले प्रदेश र स्थानीय सरकार बलियो बन्दै गएका छन् ।
सरोकारवालाहरूको भावना समेटेर अघि बढ्न महत्वपूर्ण सहयोग भएको छ । कार्यक्रमको क्षेत्र अझै विस्तार गर्नुपर्ने देखिन्छ । सरसफाइको क्षेत्रमा नमुना काम भएको जानकारीमा छ । अब क्षेत्र विस्तारमा पनि ध्यान दिन तपाईंहरुको सहयोग अपरिहार्य छ ।’
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।
यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुले लुम्बिनी प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको र संघीयता सवलिकरणका लागि दोस्रो चरणको कार्यक्रम सुरू भएको जानकारी दिएका थिए ।
उनले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय सरकारको सवलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै संस्थागत क्षमता वृद्धि गर्नु, सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता ल्याउनु, तथा समावेशी र सहभागी शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यक्रम अघि बढिरहेको उल्लेख गरे ।