वीरगञ्ज - वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा अव्यवस्थित राखिएका बेवारिसे सवारी साधन र उपकरण हटाउन अभियान सुरु गरेको छ ।
महानगरले सडक, फुटपाथ र अन्य सार्वजनिक स्थानलाई सफा र हरियाली बनाउन बेवारिसे सवारी साधन व्यवस्थापन गर्न थालेको हो । सोमबार वीरगञ्ज–२२ जगरनाथपुरमा सडकको फुटपाथमा २ वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाइएको छ । नगर प्रहरी र सरसफाइ टोलीले दुई क्रेनको सहायताले रोलर हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले बताए ।
महानगरले बसपार्क क्षेत्रमा चालू नरहेको एउटा बस र एउटा ट्रक पनि हटाइएको छ । ती सवारीसाधनलाई डम्पिङ साइटमा लगिएको छ । गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा २ बेवारिसे बस हटाइएको थियो । महानगर प्रमुख राजेशमान सिंहले पटकपटक सूचना जारी गर्दा पनि सवारीसाधन नहटाएपछि महानगरले अभियान थालेको बताए ।
सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित र प्रयोगविहीन सवारीसाधन तथा संरचनाले सहरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण यो अभियान चलाइएको हो ।
प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहर बनाउने अभियान थालेको बताए । ‘सहर हामी सबैको साझा घर हो। नागरिकले नियम पालना गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगर बनाउन सक्छौँ,’ उनले भने। महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीय बासिन्दासँग सहकार्यमा यो अभियान चलाएको छ ।