रुपन्देही : पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले लुम्बिनीमा संरक्षण प्रयोगशाला (ल्याब) सुरु भएको छ ।
प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेयले प्रयोगशालाको विधिवत् सुरुवात गरेका हुन् ।
मन्त्री पाण्डेयले नेपालमै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापनाले सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने बताए । उनले प्रयोगशालाले सम्पदा संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउन मदत गने बताए ।
यस्तै प्रयोगशाला उद्घाटनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी विश्वभरका करोडौँ श्रद्धालुहरूको पवित्र तीर्थस्थल मात्र नभई प्राचीन सभ्यता समेत भएकाले प्रयोगशालाले सम्पदाको संरक्षण गर्ने बताए ।
समारोहमा बुद्ध फाउन्डेसनका कार्यकारी निर्देशक सुम्निमा उदासले नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्ने उद्देश्यले अत्याधुनिक संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् ।
नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत् सहयोग गरी अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो ।
प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुहरूको टुटेफुटेको जोड्ने, पुरातात्त्विक वस्तुहरूलाई जोगाउने काम गर्ने छ ।
लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरू राखिएको छ । प्रयोगशाला सुरु भएसँगै २ जना क्यूरेटर राखिने छ ।