जुम्ला : छैटौं जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ कल्पना बुढाले जितेका छन् । शनिबार भएको ५१ किलोमिटर दुरीको दौड प्रतियोगिताको उपाधि कुँवर र बुढाले जितेका हुन् ।
५१ किलोमिटर लामो दुरी तातोपानी गाउँपालिका वडा नं ७ निवासी कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गरे । दोस्रो भएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दुरी ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा र तेस्रो भएका सोमबहादुर रावतले ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दौड पूरा गरेको कर्णाली स्पोर्टस क्लब जुम्लाले जानकारी दिएको छ ।
महिलातर्फ प्रथम हुन सफल धावक कल्पना बुढाले निर्धारित दुरी ७ घण्टा ५१ मिनेट ३१ सेकेण्डमा पार गरेकी हुन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो भएकी सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट २ सेकेन्डमा दौड पूरा गरे ।
अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले रु एक लाख, प्रमाणपत्र र पदक प्राप्त गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार र रु ५० हजार, प्रमाणपत्र र पदक प्राप्त गरेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए । १० किलोमिटरको दौडमा महिलातर्फ संगीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए ।
५ किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भएको क्लबले जनाएको छ ।