विराटनगर : कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमार्फत कुल १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका विभिन्न परियोजनामा समझदारी भएको छ ।
शुक्रबार सम्पन्न समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताबीच सम्झौता भएका हुन् ।
प्राधिकरणका अनुसार सम्मेलनमा कृषि क्षेत्रका ८ परियोजनामा ३ अर्ब, ऊर्जा क्षेत्रका ३ परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगतर्फ १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका २ परियोजनामा ४७ करोड, पर्यटन क्षेत्रका १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोर व्यवस्थापनसम्बन्धी ६० करोडको परियोजनामा एमओयू सम्पन्न भएको हो ।
यीमध्ये निजी क्षेत्रका १९ वटा र सार्वजनिक–निजी साझेदारीमा आधारित २७ वटा परियोजनामा सम्झौता भएको जनाइएको छ । प्रदेश सरकारले सम्मेलनमा ७१ वटा परियोजना प्रदर्शन गरेको थियो, जसको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सम्मेलनलाई ऐतिहासिक र सफल भन्दै प्रदेशको समृद्धि दिशातर्फ लगानीमैत्री वातावरण तयार पारिने प्रतिबद्धता व्यक्त गरे । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारद्वारा गरिएका कानुनी तथा नीतिगत सुधारको चर्चा गर्दै लगानीका लागि सहज वातावरण निर्माण भइरहेको जानकारी गराए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले लगानीमैत्री कानुनी संशोधन तत्काल गर्न सकिने भन्दै प्रदेश सरकार इच्छुक भएमा तत्काल पहल हुन सक्ने बताए ।
सम्मेलनमा चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, गालभ ढुंगानालगायतले कोशी प्रदेशमा लगानीको राम्रो सम्भावना रहेको धारणा राखे ।