काठमाडौं : एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) योजना ल्याएको छ । वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने उद्देश्यले बैंकले सो खाताको योजना ल्याएको हो ।
सो खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ । सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली ग्राहकले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ । सो खातामार्फत् ग्राहकले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्ने बैंकको भनाइ छ ।