२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

को बन्ला ३१औं आईजीपी ?

जीवन शर्मा
२०८१ चैत ४ गते ०६:३५
को बन्ला ३१औं आईजीपी ?

काठमाडौं : देशको शान्ति सुव्यवस्था कायम राख्दै अपराध अनुसन्धाको प्रमुख जिम्मेवार निकाय नेपाल प्रहरी संगठनमा ५ चैतदेखि नयाँ नेतृत्व आउदै छ ।  प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाने भएसँगै ८९ हजार फौज रहेको प्रहरी संगठन नयाँ नेतृत्व आउने भएकाे हाे ।

१० चैत २०७९ गते आईजीपी नियुक्त भएका कुँवरले करिब २ वर्ष नेपाल प्रहरी संगठनको नेतृत्व गरे । कुँवरसहित ९ जना उच्च अधिकृतहरू सेवा निवृत्त हुँदै छन् । 

नयाँ प्रहरी ऐन आउन अझै ढिला हुने र सो ऐनमा ३० वर्षे अवधि नहट्ने पक्का भएपछि आईजीपी कुँवरलाई प्रहरी प्रधान कार्यालयबाट आजै बिदाइ गरिँदै छ । उनको औपचारिक बिदाइअघि आइतबार साँझ प्रहरी प्रधान कार्यालयमा भएको रात्रिभोजमा विशिष्ट व्यक्तिहरूले कुँवरलाई अनौपचारिक बिदाइ गरे ।

कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि ५ चैतमा अवकाश हुन लागेका गृह मन्त्रालयले जनाएको छ  । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरीयताका आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।  

टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् । अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशका प्रमुख छन् ।

भोला रावल गण्डकी प्रदेशका प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौं आएका छन् ।

४ चैतदेखि नै खाली हुने प्रहरी आईजीपीको नियुक्तिबारे निर्णय गर्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकको दौडमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ दौडमा छन् ।

नेपाल प्रहरीको ११० ब्याचका थापा, तामाङ र गिरी आईजीपीका लागि तीव्र लबिङमा लागिरहँदा सरकारले नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि ३ जना एआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल मगाएर अध्ययनसमेत गरिसकेको छ । 

केही दिनदेखि तीनै जना प्रतिस्पर्धीहरू शक्ति केन्द्र धाउन केन्द्रित छन् । उनीहरूमध्ये पनि दीपक थापा र टेकबहादुर तामाङको प्रतिस्पर्धा निकै रोचक देखिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले मध्यान्ह दैनिकलाई बताए । 

टेकबहादुर तामाङका बुबा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लामो समयसँगै जेल बसेका कारण ओली तामाङप्रति लचक हुने र उनको सम्भावना त्यत्तिकै बलियो रहेको बताइएको छ । तर, दीपक थापाले एमाले, कांग्रेस र माओवादी केन्द्रलगायत सबै दलहरू मिलाउन सक्ने क्षमता राख्ने भएकाले तामाङलाई पछार्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । 

गिरीको कार्यक्षमता अब्बल भए पनि उनी कांग्रेस निकट रहेकाले आईजीपी बनाउने कुरामा प्रधानमन्त्री सकारात्मक नरहेका उच्च स्रोतले बतायो ।  

थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

१९ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा ६ चैत २०७९ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २४ चैत २०७९ मा एआईजीमा बढुवा भएका हुन् ।

उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूचीअनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।

ADV

सम्बन्धित खबर