२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

फागुनमा ६९ हजार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा

२०८१ चैत ४ गते ०६:१५
फागुनमा ६९ हजार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा

काठमाडौं : फागुन महिनामा करिब ६९ हजार युवा–युवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसअघि माघमा ७२ हजार ४४१ जना वैदेशिक रोजगारीमा गएका थिए भने पुसमा ६७ हजार २५८ जना गएका थिए । 

फागुनमा म्यानपावर कम्पनीबाट ३० हजार १२७ जना वैदेशिक रोजगारीमा गएका छन् । फागुन महिनासम्म सबै प्रक्रियाबाट ५ लाख ३४ हजार ४७१ युवा–युवती रोजगारीमा गएका छन् ।

नेपाली राजदूतावास र नियोगहरूबाट युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरणको समस्या समाधान नहुँदा फागुनमा पनि ठूलो संख्यामा नेपाली युवा–युवती खाडी मुलुक गएका देखिन्छ । त्यसमध्ये यूएईमा सबैभन्दा बढी नेपाली गएका छन् । 

फागुनमा यूएईका लागि २५ हजार ११७ जनाले श्रम स्वीकृति लिएकामा म्यानपावर कम्पनीमार्फत १७ हजार ३२६ जना गएका छन् । ठूलो संख्यामा भिजिट भिसामा जाने उक्त मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा १ हजार ९५३ जना गएका छन् । यो वर्ष मात्र १ लाख ७३ हजार २५० जना यूएई गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

यूएईपछि साउदी अरब दोस्रो स्थानमा छ । म्यानपावर कम्पनीमार्फत ५ हजार ६१२ जना गएको साउदी अरेबियामा फागुनमा ११ हजार ६३३ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत २ हजार ७०२ जना गएका कतारमा सबै प्रकृतिका श्रम स्वीकृतिबाट १० हजार ३३१ जना गएका छन् । 

फागुनमा मलेसिया जानेको संख्या अघिल्लो महिनाभन्दा बढेको छैन । म्यानपावर कम्पनीमार्फत १३८ जना मात्र गएका उक्त मुलुकमा फागुनमा समग्रमा ३ हजार ७१५ गएका छन् । बहराइनमा म्यानपावर कम्पनीले ५५४ जना, साइप्रसमा ७१९ जना पठाउन सकेका छन् ।

जापानमा १ हजार ९६६ जाँदा म्यानपावर कम्पनीले सय जना, जोर्डनमा ६२ जना, मकाउ ८ जना, माल्दिभ्समा १० जना मरिससमा २५० जना, ओमानमा ३६२ जना र बेलायतमा १ जना मात्र म्यानपावर कम्पनीमार्फत पठाएका छन् ।

फागुनमा १०२ मुलुकमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएकामा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्र कामदार पठाएका छन् । युरोपेली मुलुकमा रहेका नेपाली राजदूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेका बताएका  छन् ।

युरोपेली मुलुकमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम फागुनमा पनि रोकिएको छैन । फागुनमा ७३२ म्यानपावर कम्पनीले कामदार पठाएको विभागले जनाएको छ ।

ADV

सम्बन्धित खबर