रौतहट : वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवर्द्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ अन्तर्गत नेपाल पत्रकार महासंघ शाखा कार्यालय गौरसँग अन्तरक्रिया सम्पन्न भएको छ ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुखका शैलकुमारी साहको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संचालन हेमा ढकालले गरेकी थिइन् भने समापन आर्थिक शाखा प्रमुख सरोजलाल दासले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वैदेशिक रोजगारमा जाने क्रममा देखिएका प्रमुख चुनौतीहरू, सुरक्षित आप्रवासनका उपाय, सीपमूलक तालिम, श्रम स्वीकृति, भरपाइ तथा प्रमाणपत्र व्यवस्थापन, कागजातको सुरक्षा, नेपालको विमानस्थलको प्रयोग र सहयोगी संस्थाहरूको भूमिकाको विषयमा जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ‘स्वदेशमै रोजगारी गरौं, जानै परे सुरक्षितरूपमा जाऔं’ भन्ने नारालाई आत्मसात गर्दै चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गौर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासनको सन्देश फैलाउने प्रतिबद्धता जनाइएको छ ।
कार्यक्रमले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई आवश्यक सूचना र सीपसहित मात्र यात्रा गर्न प्रेरित गर्नुका साथै स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच समन्वय बढाउने लक्ष्य लिइएको छ ।
साथै, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासा र समस्या समाधानका लागि सरकारले संचालनमा ल्याएको निःशुल्क श्रमदान कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको थियो ।