दोहा कतार : महोत्तरीको जलेश्वरकी यास्मिन नाजले कतारमा सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड –२०२५’ प्राप्त गरेको छ ।
दोहामा बुधबार साँझ आयोजित सीएसआर समिटका अवसरमा नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीले उक्त अवार्ड प्राप्त गरेको हो । योसँगै यासमिनको कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको कम्पनी समेत बनेको छ ।
सीएसआर प्रमुख डा.सैफ अलि अलहजरीले यासमिनलाई उक्त अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पनी तथा संस्थाहरूलाई कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयले वितरण गर्ने गरेको छ ।
यो अवार्ड आफ्नो कम्पनीको मात्र नभइ नेपालकै लागि गर्वको विषय भएको यासमिनले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिइन् । ‘हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ, तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौँ भन्ने सन्देश दिएको छ र यो नेपालकै लागि गर्वको विषय हो’नाजले भनिन् ।
नाजको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिका लगायतका विभिन्न देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूलाई सशुल्क तथा निःशुल्क रूपमा सीपमूलक र वृत्ति विकासका लागि तामिल प्रदान गर्दै आएको छ ।