इलाम : पूर्वी नेपालको प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला इलाम ‘सूर्योदयको जिल्ला’ भनेर चिनिन्छ । यहाँको श्रीअन्तु डाँडाबाट उदाउँदै गरेको सूर्य हेर्न देश–विदेशबाट पर्यटक पुग्ने गर्छन् । प्रकृतिको अनुपम दृश्य, हिमशृंखलाको चमक र हरियाली चियाबगानले यहाँलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ ।
इलामबजारकी इन्दिरा घिमिरेका अनुसार, दार्जिलिङको टाइगर हिलभन्दा श्रीअन्तुबाट देखिने सूर्योदय प्रष्ट र दीर्घकालीन हुन्छ । इलाम आइपुगेका पर्यटकलाई थप जानकारी र मार्गनिर्देशन दिन इलामबजार र श्रीअन्तुमा सूचनाकेन्द्रहरू सञ्चालनमा छन् ।
प्रकृति, पर्यटकीय स्थल र चियाको राजधानी
इलामको पर्यटकीय पहिचानसँग गाँसिएका प्रमुख गन्तव्यहरूमा श्रीअन्तु, माइपोखरी र सन्दकपुर पर्छन्। यीमध्ये कुनै नपुगी फर्किने हो भने इलामको यात्रा अधुरो ठहरिन्छ, भन्छिन् पञ्चकन्या निवासी सविता राई ।
चियाको राजधानीका रूपमा समेत चिनिने इलाममा हाल १,६६५ हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ। यद्यपि, कुल १०,६०० हेक्टर जमिन चिया खेतीका लागि उपयुक्त छ। इलाम चिया उत्पादन मात्र होइन, अन्य नगदे बालीका लागि पनि चिनिएको छ ।
इलाम अदुवा, अलैंची, अम्लिसो, अकबरे खुर्सानी, ओलन र आलु उत्पादनमा पनि अग्रणी छ । यी 'अ' अक्षरले सुरु हुने नगदेबालीले यहाँका किसानको जीवनस्तर सुधार गरेको छ । किसानहरू भन्छन्—इलामका भीरपाखा र खोल्सामा पनि पैसा फल्छ ।
कृषिजिविकाका हिसाबले इलामको उत्पादन विविध छ । यहाँका किसान स्कुस, चिराइतो, घिउसिमी, नासपाती, घिउ, बाँस, चीज, छुर्पी, फूल, सुन्ताला र नेपाली कागजजस्ता वस्तु बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
पञ्चकन्याका किसान विक्रम राई भन्छन्, “हाम्रो गाउँका धेरै किसानले वर्षमा दुई लाख रुपैयाँ बराबरको इस्कुस मात्रै बेच्ने गरेका छन् ।” कन्याम, पञ्चकन्या, कोल्बुङ, पशुपतिनगर, जिर्मले र प्याङ इलामका प्रमुख इस्कुस उत्पादन केन्द्र हुन् ।
इलाममा दुर्लभ रातो पाँडा देख्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकको आकर्षणमा परेको छ । विभिन्न प्रजातिका लालीगुराँसले यहाँको वनस्पतिको सौन्दर्य अझ बढाएको छ । वनभोज तथा शैक्षिक भ्रमणका लागि इलाम रोज्ने विद्यार्थी, शिक्षक र युवा–युवतीको संख्या दिनप्रतिदिन बढ्दो छ ।
गाउँखाने कथामा समेत इलामको चर्चा हुने गरेको छ, जहाँ सौन्दर्य, संस्कृति र सम्भावनाले गाउँ माग्ने मन बनाइदिन्छ ।